पुष्पराज खतिवडा

मनहर्वा,पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया– निजगढ सडक खण्डमा पर्ने पुलहरु जिर्ण हुँदा जोखिम सवारी आवागमनमा समस्या बढेको छ । राजमार्गको पसाह, बालगंगा र लालबकैया खोलाका पुलको पिच भत्किएर ठुलाठुला खाल्डा परेका छन् । जस्का कारण सवारीहरु घण्टौं जाममा बसेर एकतर्फी आवागमन गर्न बाध्य भएका छन् ।

पुलको दुरावस्थाका कारण सवारी चलाउन डर लाग्ने गरेको चालकहरुले बताउने गरेका छन् । ‘पुलमाथि कालो पत्रे गरिएको ठाउँमान ठुल्ठुला खाल्डा छन्, राजमार्गमा ट्रक चलाउदै आउनुभएका चालक उमेश थापाले भन्नुभयो, थाहा छैन कुन दिन प्वाल परेर गाडी व.पुल तल झर्ने हो ।’ पुलमाथि यति ठुला खाल्डा बन्दा पनि कसैले चासो नदेखाएको सिमराबाट सिमेन्ट बोकर विराटनगर हिनेका ट्रक चालक थापाले सुनाउनुभयो ।

खाल्डा खुल्डीमा गाडी बचाएर पार गर्नु पर्ने अवस्था रहेको अर्का चालक सुमन कार्कीले बताउनुभयो । एकतर्फी आवगनमका कारण घण्टौदेखि पुलको छेउमा जाममा बस्नु परेको उहाँले सुनाउनुभयो ।

पुल जिर्ण हुँदा यातायात सेवा निकै प्रभावित बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठले बताउनुभयो । आवागमन सहजताका लागि चौबिसै घण्टा प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ । ‘पुलमा बनेका खाल्डाका कारण घण्टौं जाममा हुने अवस्था छ, भत्किएको पुुलमा कहिलेकाँही गाडी अड्किएर झनै समस्या हुने गरेको छन, उहाँले भन्नुभयो, बिरामी बोकेका एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन्, जाममा परेर बिरामी समेतको मृत्यु भएको सुन्नमा आएको छ ।’ पुलको अवस्था सुधारका लागि सडक विभाग लगायतका निकायमा पटकपटक अनुरोध गर्दा सुनवाई नभएको उहाँको भनाइ छ । बाराका जिल्लाको लाल बकैया, पसाह, बालगंगा र रौतहट सर्लाही जोड्ने वागमती पुल जिर्ण बन्दा समस्या भएको हो ।

जिर्ण पुलहरुको तत्काल सुधार गरिदिन सडक विभागसँग कुरा गरेको र केही दिनमै मर्मतको काम गर्ने भनिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले बताउनुभयो ।

सडक विभाग हेटौंडा कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले जीर्ण पुलहरुको चाँडै मर्मत गरिने बताउनुभयो । ‘पहिला राखिएको अलकत्रा उप्किए खाल्डो बनेको हो । सवै उप्काएर पुनः निर्माण गर्न तत्काल सम्भव छैन । खाल्डो पर्दै जाँदा मर्मत गर्दै गएको र सामान्य मर्मतका कारण खाल्डा पनि बढ्दै गएको छ ।’ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सवारी साधन चल्दा पुल हल्लिएको र पानी परेपछि अलकत्रा उप्किएको हो । ‘अब यसपटक नउप्किने गरी इमोल्सन सहित अलकत्रा हालेर मर्मत गर्ने तयारी छ ।’ हाल बजारमा ईमोल्सनको अभाव भएका कारण मर्मत कार्य ढिलो भएको श्रेष्ठले बताउनुभयो । दुईचार दिनपछि सडक विभागमा भएका आफ्ना मेशिन र जनशक्तिको सहयोगमा पुलको मर्मत गर्ने उहाँले जानकारी दिनुभयो ।

२०२४ सालअघि सोभियत संघले निर्माण गरेको यी पुलहरुले ५० आयु पुरा भएको छ । सरकारले पूर्वपश्चिम राजमार्गमा चार लेनका पुल बनाउन पनि अध्ययन गरिरहेको र दुईचार वर्षभित्र काम शुरु हुने सडक विभागका प्रमुख श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here