जियालाल चौधरी
कोल्हबी,गाउँपालिका कार्यालयबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीको पक्षमा बारा जिल्लाको बारागढीमा स्थानीयको एउटा समुहले बिहीवार प्रदर्शन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष देवदत्त बछारेको सहमति बिनानै चौधरीको सरुवा गराएर वकिल पाललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालयमा हाजिरी गराइएपछि आक्रोशित बनेका स्थानीयको एउटा समुहले उहाँको पक्षमा प्रदर्शन गरेको हो ।
चौधरीको सरुवा भएपछि उपाध्यक्ष लक्ष्मी देवी रायले प्रमुख प्रशासकीय अधिकृतमा पाललाई हाजिरी गराउनुभएको हो । पालिकाका अध्यक्ष बछारसहित कार्यालयका लेखा अधिकृत अजय चौधरी, ईन्जिनियर बिनय चौधरी, योजना शाखा प्रमुख राजकिशोर चौधरी, वास फोकल पर्शन उपेन्द्र साह, वास बरिष्ठ प्रज्वलक उमेश चौधरी लगायतका कर्मचारीहरु पालिकाले संचालन गरेका योजनाको स्थलगत निरीक्षणमा गएको मौका छोपी उपाध्यक्ष लक्ष्मी देवी रायले पाललाई कार्यालयमा हाजरी गराउनुभएको अध्यक्ष बछारको भनाइ छ ।
प्रदर्शनमा उत्रिएका स्थानीयले दलाल बिचौलिया मुर्दावाद, आमोद चौधरी जिन्दावाद जस्ता नारा लगाएका थिए । उनीहरुले बारागढी गाउँपालिकाकी उपाध्यक्ष यादवविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले राजनीति गर्ने प्रमुख प्रशासकीय अधिकृत नचाहिने भन्दै काम गर्ने अधिकृत आवश्यक भएको बताउदै गाउँपालिका कार्यालयको मुल गेटमा धर्नासमेत दिएका थिए । प्रर्दशनमा सहभागी एक महिलाले आफना माग सम्बोधन नभएसम्म धर्ना र प्रदर्शन जारी राख्ने बताइन ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चौधरी स्थानीय बासिन्दा पनि भएको र आफ्नै गाउँघर सम्झेर पालिकामा विकास निर्माणका कार्य संचालन गर्दै आएकाले सरुवाको विरोध र अधिकृत चौधरीको पक्षमा स्थानीयले प्रदर्शन गरेको पालिकाका अध्यक्ष बछारले बताउनुभयो । चौधरीको कार्यकालमा आफनो नेतृत्वमा पालिकामा प्रशंसनीय कामहरु गरेको र सोको जस एकलौटी जाने भएपछि आत्तिएका विपक्षी पार्टीका नेता कार्यकर्ताहरुले आफूअनुकुलको कार्यालय प्रमुख ल्याएर आगामी निर्वाचनमा आफूलाई कमजोर पार्ने षडयन्त्र गरेको पनि बछारले बताउनुभयो । उहाँले जनताको माग अनुसार चौधरीलाई फेरि कार्यालयमा फर्काएर ल्याउनु पर्ने बताउनुभयो ।