वीरगन्ज,वीरगन्जमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जका ४ अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको बिहिवार एकैदिन मृत्यु भएको हो । ज्यान गुमाउनेमा ३ जना पुरुष र ७ जना महिला रहेका छन् । कोरोना संक्रमितको उपचार भइरहेका नारायणी अस्पताल, नेशनल मेडिकल कलेज (एनएमसी) को कोभिड अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा र भर्खरै सञ्चालनमा आएको स्पर्श मल्टि स्पेशियलिटी अस्पतालमा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी वयोद्या अस्पतालमा बिहिवार पहिलो मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी ७८ वर्षीय बृद्धको बिहान सवा १२ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनयकुमार श्रीवास्तवले जानकारी दिनुभयो । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २६ निवासी ४५ वर्षीय महिलाको पनि मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताउनुभयो ।

त्यस्तै नारायणी अस्पतालमै वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बस्ने ५८ वर्षीय महिलाको पनि मृत्यु भएको छ । डा. दासका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ५ कै ६० वर्षीय बृद्ध महिलाको पनि बिहिवार नै मृत्यु भएको छ । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ निवासी ५५ वर्षीय महिलाले पनि नारायणी अस्पतालमै ज्यान गुमाएकी छिन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेज (एनएमसी) ले सञ्चालन गरेको कोभिड अस्पतालमा पनि २ जना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ७६ वर्षीय बृद्ध र वडा नम्बर २६ निवासी ५० वर्षीय महिलाको मृत्यु भएको प्रशासकिय अधिकृत श्रीवास्तवले बताउनुभयो ।

उहाँका अनुसार भवानी अस्पतालमा पनि २ जनाले ज्यान गुमाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० निवासी ६५ वर्षीय बृद्ध महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको छ । त्यसैगरी वीरगन्जको बहुअर्वामा सञ्चालित स्पर्श मल्टि स्पेशियलिटी अस्पतालमा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ निवासी ५६ वर्षीय महिलाको मृत्यु भएको छ ।

यसैबीच कोरोना संक्रमणबाट रौतहटमा थप चारजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा रहेका दुई जना र जिल्ला बाहिर अन्य अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा रहेका गरुडा नगरपालिका–४ का ५६ वर्षिया महिला र गढीमाई नगरपालिका–८ का ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

यसैगरी वृन्दावन–४ हर्दियाका २४ वर्षीय युवकको नारायणी अस्पताल वीरगञ्जमा र फतुवा विजयपुर–७ का ६५ वर्षी पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा रौतहटमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५०५ पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी राजपुर नगरपालिकामा १६ जना, कटहरियामा ९ र गढीमाईमा ७ जना रहेका छन् ।

Leave a Reply