दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,शिक्षण पेसाबाट अवकाश प्राप्त गर्नुभएका बाराको कोल्हवी नगरपालिका– ११ मा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुरवाका प्रधानाध्यापक गंगाराम चौधरीलाई विद्यालयले एक समारोहकाबीच सम्मानसहित बिदाई गरेको छ । २८ वर्षसम्म विद्यालयमा प्रधानाध्यापकको रूपमा सेवा पु¥याउनुभएका चौधरीको बुधवार एक भव्य कार्यक्रमबीच बिदाई गरिएको हो ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, विद्यालयका पूर्वशिक्षक, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक, सञ्चारकर्मी तथा स्थानीय अभिभावकहरूको उपस्थितिमा चौधरीलाई फूलमाला, टीका र गम्छा लगाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्दुप्रसाद चौधरीले गर्नुभएको थियो भने सो अवसरमा कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, शिक्षा शाखा प्रमुख मिश्रीलाल साह, वडा सचिव रमेश साह, पूर्वशिक्षक सूर्यप्रसाद चौधरी, देवकीप्रसाद राम, नगर कार्यपालिका सदस्य रनिया चौधरी, वडा सदस्य जगरनाथ चौधरीलगायतले बिदाई मन्तव्य राख्दै प्रधानाध्यापक चौधरीको योगदानको उच्च प्रशंसा गरेका थिए ।
वक्ताहरुले चौधरीले विद्यालयको शैक्षिक विकास, उन्नति र प्रगतिलाई कोल्हवी नगरकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गरेका थिए । नगरका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले पनि उहाँको नेतृत्वमा विद्यालयले हासिल गरेका उपलब्धिहरूको खुलेर प्रशंसा गरेका थिए ।सो बिदाई कार्यक्रम शिक्षक दिनेशप्रसाद साहले सञ्चालन गर्नुभएको थियो ।



















