निजगढ,बाराको कोल्हबीस्थित तामागढी साझेदारी वन समूहको जंगलमा हात्तीको आक्रमणमा परी एक सोमवार बिहान एकजनाको मृत्यु भएको छ ।जंगलमा घाँस दाउरा गर्न गएका कोल्हवी नगरपालिका– २ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको मंगलवार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

डिभिजन वन कायालय बाराले हिंसक वन्यजन्तुको गतिविधि बढेकोभन्दै वन क्षेत्रमा प्रवेश नगर्न स्थानीयसंग आग्रह गरेको भोलिपल्ट नै कोल्हबीमा हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएको हो ।डिभिजन वन कार्यालय बाराका डिएफओ राजिव झाले सोमवार सूचना निकालेर जिल्लाको कोल्हबी, निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने जंगलमा बच्चासहितको हात्ती र बाघको गतिविधि बढेको भन्दै वन क्षेत्रमा प्रवेश नगर्न र आफ्ना घरपालुवा चौपायलाई पनि चरिचरणको लागि वनमा नलैजान आग्रह गर्नुभएको थियो । वन क्षेत्रमा छावासहितको हात्ती र डमरुसहित बाघको बथान देखिन थालेपछि सुरक्षाको लागि वन कार्यालयले सूचना जारी गरेको हो ।

जंगलमा घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । सोही क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । कोल्हबीमा जंगली हात्तीको आक्रमणबाट ज्यान जाने क्रम तीव्र हुदै आएको छ । पछिल्लो १० वर्षयता यस क्षेत्रमा जंगली जनावरको आक्रमणमा परेर ५ जना स्थानीयको ज्यान गएको छ भने स्थानीयले हात्ती र बाघ जस्ता वन्यजन्तुमाथि आक्रमण गर्ने र मार्ने क्रम पनि उस्तै छ ।केही दिनअगाडि कोल्हवी नगरपालिका– २ मै एउटा हात्ती मृत फेला परेको थियो । यसअघि कोल्हबीकै वन क्षेत्रमा एउटा पाटे बाघ टाउकोमा गोली हानेर मारेको अवस्थामा फेला परेको थियो ।
सिंगौलमा बाघको आक्रमण
निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलमा बाघ केही दिनयता बाघले सर्वसाधारणमाथि आक्रमण गर्नेक्रम बढेको छ । आक्रमणबाट अहिलेसम्म कुनै किसिमको मानवीय क्षति नभएपनि स्थानीयमा त्रास बढेको छ ।सिंगौल पूर्वको धन्सार नदी किनारमा भएको छुट्टाछुट्टै घटनामा बाघले स्थानीय ३ जनामाथि सोमवार आक्रमण प्रयास गरेको हो ।
निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनले दिएको जानकारी अनुसार बस्तिपूर्वको खोला छेउको चौर नजिकै बाघको आक्रमणमा परेका २ जना मध्ये एक समान्य घाइते भएका छन ।

बाघको आक्रमणमा परेका उनीहरुले हारगुहार गरेपछि पुगेका गाउँलेहरुले बाघलाई सो स्थानबाट धपाएका थिए ।
यसअघि सोही दिउसो गाउँकी जोधिया कडडियालाई पनि बाघले आक्रमण गरेको वडा अध्यक्ष लोप्चनले जानकारी दिनुभयो । बाघले तिछोरेर कुममा सामान्य चोट लागेकी ती महिलाले भागेर ज्यान जोगाएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply