कलैया,गढीमाई मेलाको एक समारोहबीच शनिवार उद्घाटन गरिएको छ । मंसिर १ गतेदेखि शुरु भएको मेलाको एकीकृत समाजवादी पार्टीका नेता माननीय किसान श्रेष्ठले डिजिटल प्रवेशपत्र प्रयोग गरी उद्घाटन गर्नुभएको हो ।उद्धाटन समारोहमा नेता श्रेष्ठले मेलामा रहेका खेल तमासा र सांस्कृतिक कार्यक्रमले दर्शनार्थीहरूलाई झनै आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । डिजिटल कार्डबाट मेला उद्घाटन गर्दै उहाँले मेलाको रमाइलो वातावरण अनुभव गर्न पिङ पनि खेल्नुभएको थियो ।

गढीमाई मन्दिरका मुख्य पूजारी मंगल चौधरीका अनुसार मंसिर १ देखि शुरु भएको मेला आगामी ३० गतेसम्म चल्ने छ । उहाँले मंसिर २३ गते मुख्य पूजारीका परिवारजनबाट शुरु हुने तान्त्रिक विधिद्वारा पञ्चबली चढाउने परम्परा रहेको छ । मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले यस दिन धामी झाक्रीहरूद्वारा गरिने पूजा र भक्तजनहरूले चढाउने बलिको व्यवस्थापन गरिने बताउनुभयो । मेलामा देश तथा विदेशबाट लाखौं दर्शनार्थीहरू गढीमाई माताको दर्शन गर्न आउने उहाँको भनाई छ ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको नेतृत्वमा मेला व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । मेलामा नौटंकी, सरकस, मौतको कुवा जस्ता खेल तमासाहरू राखिएका छन् । साथै, कृषि प्रदर्शनी र एक्सपो २०८१ को आयोजना समेत गरिएको छ । एक्सपोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन ।त्यसैगरी मेलाको सुरक्षा र शान्ति व्यवस्था सुनिश्चित गर्न नेपाल प्रहरीले १ हजार ४६६ जना सुरक्षाकर्मी परिचालन गरेको छ । मदिरा बिक्री वितरण, ठुलो आवाजमा डिजे बजाउने, जुवातास खेल्नेलगायत गतिविधिहरूमा पूर्ण रोक लगाइएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।

Leave a Reply