बारा,प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर भारतसँग जोडिएको सिमानाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले सूचना प्रकाशित गरेर बिहीवार राती १२ बजेबाट सिमा नाका बन्द गरिने जनाएको छ । नाका मंसिर ४ गतेसम्म नाका बन्द रहनेछ ।
निर्वाचनमा शान्ति सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा नाका बन्द गर्न लागिएको हो । खुल्ला सीमा र नाकाका कारण भारतीय क्षेत्रबाट प्रवेश गरेर हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनले सीमा नाका बन्द गर्न लागेको हो ।
त्यसैगरी मतदानको अघिल्लो रातबाट अत्यावश्यक सवारी बाहेक अन्य सवारी सञ्चालनमा समेत रोक लगाइने भएको छ । मंसिर ३ गते राति १२ बजेदेखि मंसिर ४ गते दिनभर एम्बुलेन्स, दूध तथा ओैषधि बोकेका सवारी साधन, खानेपानी ट्याङ्कर, दमकल, दुरसचार, शव बहान, अस्पताल सेवा तथा विद्युत जस्ता अत्यावश्यक सेवा, कुटनैतिक निकायका नम्बर प्लेट (डिसी उल्लेख) र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।