सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १०, नितनपुरमा वडा अध्यक्ष सञ्जय पटेलविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ ।वडा कार्यालयअगाडि स्थानीयले प्रदर्शन गर्दै आर्थिक वर्ष २०८०-०८१ को बजेटमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागी निवर्तमान वडा अध्यक्ष सरोज पटेलले वडा कार्यालयमा विनियोजित १ करोड ६ लाख ३ हजार रुपैयाँ बजेटमध्ये ५८ लाख ७८ हजार रुपैयाँ कुनै काम नै नगरी हिनामिना गरिएको आरोप लगाउनुभयो ।
उहाँका अनुसार, वडाध्यक्ष पटेलले बिना काम नै बजेटको रकम भुक्तानी गरेका छन । विभिन्न शीर्षकमा रकमको दुरुपयोग भएको उहाँले बताउनुभएको छ ।यसै विषयमा निवर्तमान वडा अध्यक्ष पटेलले स्थानीयलाई साथ दिँदै प्रदर्शनको नेतृत्व गर्नुभएको थियो ।प्रदर्शनमा रामबाबु साह, सुगन्धि पासवानलगायतका करिब १०० जना स्थानीयको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरुले भ्रष्टाचारको विषयमा सम्बन्धित निकायले यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग पनि गरेका थिए ।


















