मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सञ्चालित नगर अस्पतालमा शुक्रवार ४.७५ किलो तौलको शिशुको सफल नर्मल डेलिभरी गराएको छ ।यो जीतपुरसिमरा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तौलको शिशुको सफल प्राकृतिक प्रसूति हो । उपमहानगरपालिका जैतापुर निवासी मनीषा चौधरीले शिशुलाई जन्म दिनुभएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार, शिशुको जन्म सफलतापूर्वक नर्मल डेलिभरीमार्फत सम्भव भएको हो, जसमा चिकित्सक टोलीको उच्च मेहनत र दक्षता मुख्य भूमिका खेल्यो ।अस्पतालमा यो पहिलो पटक यति धेरै तौलको शिशुको नर्मल डेलिभरी सफलतापूर्वक सम्पन्न भएको डा. साहले जानकारी दिनुभयो ।साथै, अस्पतालको सेवा गुणस्तरमा सुधार हुँदै गएको र स्थानीयवासीले पनि अस्पतालमा विश्वास गर्न थालेको कुरा उहाँले बताउनुभयो । यससँगै अस्पतालमा बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पनि उल्लेख गरिएको छ । शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको अस्पतालले जानकारी दिएको छ ।


















