हेटौंडा – प्रदेश ३ को नाम वाग्मती र स्थायी राजधानी हेटौँडा नै राख्न साझा र विवेकशील बाहेकका दल सहमत भएका छन् । विवेकशील नेपाली र साझा बाहेक सत्तारुढ नेकपा, मुख्य विपक्षी नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती हुनुपर्ने प्रस्ताव संसदमा दर्ता गराएका छन् । तर, विवेकशील नेपाली र साझा पार्टीले भने प्रदेशको नाम वाग्मती नै रहे पनि राजधानी भने काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेशसभा सचिवालयमा राजधानीको नाम सम्बन्धी प्रस्ताव प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले र प्रदेशको नाम नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाले दर्ता गराउनुभएको हो । सत्तारुढ र सबैजसो विपक्षी दल सहमत भएपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहनुभएको छ । उक्त प्रस्तावलाई समर्थन गर्नेहरूमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ हुनुहुन्छ । यसैगरी काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहनुभएको छ ।
समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य हुनुहुन्छ । सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो । यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् । यसैबीच मकवानपुर । विवेकशील साझा पार्टीले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रदेशसभामा प्रस्ताव गरेको छ। विवेकशीलले पेश गरेको प्रदेशको राजधानी प्रस्तावमा प्रदेशका १३ जिल्लाका बासिन्दाहरुलाइृ पहुँचका हिसाबले काभ्रेको धुलिखेल नै पायक पर्ने उल्लेख छ।
सांसद रमेश पौड्यालले पेश गरेको प्रस्तावमा शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेका छन्। सत्ताधारी नेकपाले भने प्रदेशको नाम बाग्मती र स्थायी राजधानी मकवानपुरको हेटौंडा नै कायम गर्ने पक्षमा सहमति कायम गरिसकेको छ। नेपाली कांग्रेसले पनि हेटौंडालाई नै प्रदेश राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ।