कलैया,बाराको महागढीमाई नगरपालिका बरियारपुरमा मंसिरको पहिलो साताबाट लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलाको शोभायात्राको तयारीको लागि बुधवार नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।बिहीवार (आज) निकालिने मेलाको शोभायात्रा तयारीका लागि महागढीमाई नगरपालिकाले नगर क्षेत्रभित्र बुधवार सार्वजनिक बिदा दिएको हो ।

मेला व्यवस्थापन समितिका अनुसार बिहीवार बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुनेछ । गढीमाई मन्दिरदेखि सुरु भएको शोभा यात्रा बरियारपुर, ईनर्वा, तेलकुवा, बसतपुर हुँदै नेपाल–भारत सीमा नजिक रहेको मटिअर्वा शितलपुर विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर– दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर सम्पन्न हुने समितिका संयोजक एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ ।
प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा देश विदेशबाट लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन् । अघिल्ला मेलामा भन्दा यस वर्षको मेला ऐतिहासिक, सभ्य र भव्य बनाउने गरी समितिले तयारी गरिरहेको यादवले बताउनुभयो ।

यसैबीच गढीमाई मेला व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय मेला संचालन समिति गठन गरिएको छ ।मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो रहेका छन् । यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवी लहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् । मूल समितिको सदस्यमा बाराका १६ वटै पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र जिल्लामा क्रियाशील सबै राजनीतिक दलका एक एक जना प्रतिनिधिहरु रहेका छन् ।

Leave a Reply