कलैया,सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।
मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी चौधरीको तर्फबाट नागेन्द्र राउतले बहस गरेका थिए । बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्र, मौकामा बुझिएका मानिसहरूको भनाईलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।उक्त घटनामा डा. सुरजकुमार चौरसियाले बालिकाको शारीरिक परीक्षण गर्नुभएको थियो । डा. चौरसियाको बयानमा पीडित बालिकाको बुवा र उनका साथी एउटै मिलमा काम गर्ने भएकोले बुवाले छोरीलाई हेरविचारको लागि डेरा कोठामा छाडी जाने गरेका थिए । घटना भएको दिन पीडितको बुवाको साथीले बालिका सुतिरहेको अवस्थामा अर्को कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भएकाले घटनाबारे बहिनीले बयान दिएको डा. चौरसियाले जनाउनुभएको छ ।
प्रतिवादी भुवन चौधरी भन्ने हेमन चौधरी र पीडित वालिकाका बुवा लामो समयदेखि जीतपुरसिमरा– ७ स्थित फर्निचर उद्योगमा सँगै काम गर्दै आएका साथी हुन् ।२०७९ असोज ८ गते पीडित बालिकाका अभिभावक काम विशेषले हेटौँडा गएको बेला काठ मिलमा सँगै काम गर्ने भुवन चौधरीको घरमा उनीहरूले छोराछोरी छाडेका थिए । चौधरीको पनि साना छोराछोरी भएकाले दिनभर उनीहरूसँगै खेल्ने गरेकोले पीडित बालिकाका अभिभावकले विश्वासको भरमा उनलाई त्यस दिन भुवन चौधरीको घरमा छाडेका थिए ।तर त्यही दिन चौधरीले राती करिब १० बजेको समयमा बालिकालाई सुतिरहेको ठाउँबाट उठाएर अन्यत्र लगेर जबरजस्ती करणी गरेका थिए । घटना पश्चात् बालिका रोई कराइ गरेपछि चौधरीले सुरुमा पैसा दिन्छु भन्दै फकाएको र नमानेपछि घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका थिए ।असोज ८ गते राति भएको घटनामा पीडित बालिकाको अभिभावक भोलिपल्ट घर फर्किएपछि छोरीले पेट र पिसाब फेर्ने ठाउँ दुखेको छ भन्दा के भयो भनी सोध्दा पीडित बालिकाले घटनाबारे सबै कुरा अभिभावकलाई बताएकी थिइन् ।त्यसपछि पीडित बालिकाका अभिभावकले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (क) बमोजिम सजायको माग गर्दै बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।उक्त मुद्दामा बारा जिल्ला अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (क) बमोजिम प्रतिवादी चौधरीलाई जन्मकैदको सजाय हुने तथा दफा (३) (क) बमोजिम सात लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । साथै जरिवाना बापतको रकम पीडित राहत कोषमा जम्मा गरी कोषमार्फत बालिकालाई भराइदिन निर्देशन समेत दिएको छ ।मुलुकी अपराध संहिता २०७४ को दफा २२८ बमोजिम प्रतिवादी चौधरीबाट क्षतिपूर्ति बापत थप २ लाख भराउने पनि फैसलामा उल्लेख गरिएको छ । २०७९ असोज १३ गतेदेखि वीरगन्ज कारागारमा थुनामा रहेका चौधरीलाई जिल्ला अदालत बाराले गरेको जन्मकैदको फैसला बारे सूचना दिन जानकारी गराइएको छ ।गत वर्ष असोज ८ गते भएको सो घटनामा बारा जिल्ला अदालतले ३ महिनाअघि फैसला प्रमाणीकरण गरेर केही दिनअघि पूर्ण पाठ सार्वजनिक गरेको हो ।
















