जनकपुरधाम,मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई–दुई तथा सप्तरी र सर्लाहीका एक–एकजना रहेका छन् ।बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेशका आठ जिल्लामा बाढीबाट ५६ लाखको क्षति भएको छ ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दिबास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता भएकी छिन् । आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ ।

मधेश सरकारद्वारा बाढीपीडितका लागि आठ करोड विनियोजन
जनकपुरधाम, मधेश प्रदेश सरकारले अविरल वर्षाले पु¥याएको क्षतिवापत पीडितलाई राहत तथा पुनःस्थापना गर्नका लागि आठ करोड रकम विनियोगज गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अविरल वर्षाले पु¥याएको क्षतिवापत पीडितलाई राहत तथा पुनःस्थापनावापत प्रदेशको आठ वटै जिल्लालाई एक–एक करोड आपतकालीन रकम विनियोजन गर्ने निर्णय गरेको हो ।साथै उक्त बैठकबाट मधेशमा बाढीबाट क्षति भएको सडक पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण देशभरि आएको बाढी र पहिरोको प्रकोपबाट मधेश पनि अछुतो नरहेको बताउनुहुँदै मधेशको आठवटै जिल्लामा कुनै न कुनै रुपले क्षति पुर्याएका कारण रहत स्वरुप उक्त रकम छुट्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यसमा पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु पनि अति प्रभावित भएका क्षेत्र हुन् ।”मुख्यमन्त्री सिंहले सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गर्नुहुँदै प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।यसअघि शनिबार मुख्यमन्त्री सिंहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here