निजगढ,मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाको पहिरोमा परी ज्यान गुमाएका विकल रेग्मीको पार्थिव शरीरलाई सोमवार गृहनगर निजगढ नगर परिक्रमा गरेर अन्तिम बिदाइ गरिएको छ।इन्द्रसरोवर– ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी निजगढ ८ का १४ वर्षियविकलको पहिरोमा पुरिएर गत शनिवार ज्यान गएको थियो।
खयरघारीबाट शुरु भएको शव यात्रा निजगढ बजार परिक्रमापछि क्षेत्रमा शव यात्रापछि विकलको पार्थिक शरीरलाई निजगढ ९ स्थित सहिद हिरालाल रंगशालामा राखेर सम्मानसहित अन्तिम बिदाइ गरिएको हो।उनको पार्थिव शरीरमा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला साह, संविधान सभा सदस्य बलवीर चौधरी, प्रदेश सभा सदस्य मीना लामा, नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लीलादेवी लामिछानेलगायत एन्फा बाराका पदाधिकारी र स्थानीय खेलप्रेमीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उहाँको सम्झनामा नगरपालिकाले हरेक वर्ष ‘विकल स्मृति जुनियर फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गर्नुभएको छ । ‘विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति बेहोरेको छ। नगरले उनको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता गर्नेछ ।’ नगरप्रमुख पुरीले भन्नुभयो । उहाँले आउँदै गरेको विजया दशमी तथा तिहारमा विगतका वर्षमा नगरले गर्दैआएको चियापान र शुभकामना आदनप्रदान कार्यक्रम यस वर्ष आयोजना नगर्ने पनि बताउनुभयो ।काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि शव सोमवार बिहानमात्रै निजगढ ल्याइएको थियो । काठमाण्डौंबाट हेटौडाका अन्य मृतक खेलाडीसंगै हेलिकप्टरमार्फत हेटौडाका ल्याइएको विकलको शव निजगढ ८ खयरघारीस्थित घरमा केही बेर राखेर नगर परिक्रमा गराइएको हो ।
स्थानीय बकैया ठाकुर माध्यमिक विद्यालयमा अध्ययनरत विकल जिल्ला, प्रदेश हुँदै विभिन्न प्रतिगोगिताबाट यू–१३ टोलीको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को छनोटमा परेका थिए। एन्फाको छनोटमा परेपछि उनी गत जेष्ठ महिनामा सिस्नेरी क्याम्प पुगेका थिए।बुबा जयन्त रेग्मी र आमा कमला रेग्मीको दोस्रो सन्तानको रुपमा रहेका विकल पढाइसँगै खेलमा पनि औधि रुची राख्ने गरेको बकैया ठाकुर माविका प्रअ हिमेश घिमिरेले बताउनुभयो ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा सञ्चालित आवासीयसहित फुटबल सिकाउने माविलाई इन्द्रसरोवरको पानीले डुबानमा पार्ने भएपछि विद्यालयका ३७ प्रशिक्षार्थीमध्ये ६ जना छोटो बाटो भएर डुबानबाट जोगिन निस्कने क्रममा पहिरोमा पुरिएका थिए ।पहिरोमा विकलसहित दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।