जनकपुर,सत्ता गठबन्धनका दुई दलले समर्थन फिर्ता लिएपछि सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परे पनि जनता समाजवादी पार्टी (जसपा)नेपाल र मुख्यमन्त्री यादव आफ्नो नेतृत्वको सरकार जोगाउने कसरतमा लाग्नुभएको छ ।उता, सरकारबाट बाहिरिएका एमाले र माओवादी भने अर्को समीकरण बनाएर नयाँ सरकार बनाउने गृहकार्य थालेका छन ।

पछिल्लो पटक २०८० वैशाख ४ गते प्रदेशसभामा जनता समाजवादी नेपाल नेतृत्वको मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेससँग सत्ता गठबन्धन भत्काएर बनेको नयाँ गठबन्धनले दिएको विश्वास मतको २७ दिनमै सत्ता गठबन्धनका दुई पार्टी एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि नयाँ गठबन्धनका लागि रस्साकस्सी सुरु भएको हो ।मुख्यमन्त्री यादवको कार्यविधि एक वर्ष चार महिना छ दिन मात्र भएको छ । यस अवधिमा चार पटक सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरू विश्वासको मत फिर्ता लिएका छन् । र चारै पटक सत्ता गठबन्धनमा पनि फेरबदल भएपछि बाहिरिने दल विश्वासको मत समेत फिर्ता लिइँदै आएका छन् ।

सत्ता साझेदारी दलको गठबन्धन पटकपटक भत्किए पनि यादवको नेतृत्वमा कुनै परिवर्तन आएको छैन । मुख्यमन्त्री यादवले चारै पटक विश्वासको मत प्राप्त गर्नुभयो । दुई पटकसम्म सबै सांसद, दलको विश्वासको मत पाउनुभएको थियो भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टीको विश्वासको मत पाउनु भएको थिएन ।सत्तासाझेदारी नेपाली कांग्रेस बाहिरिएपछि गत २०८० चैत ९ गते विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादव वैशाख ४ गते चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो ।त्यसबेला एमालेको २४, जसपा नेपालको १९, माओवादी केन्द्रको नौ, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक÷एक गरी ६१ मत विश्वासको पक्षमा परेको थियो । चौथो पटक विश्वासको मतदान प्रक्रिया सुरुको चरणमा सभा अवरुद्ध गर्दा निकै चर्काचर्की भएपछि नेपाली कांग्रेस, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी मतदान प्रक्रियामा सहभागी जनाएका थिएन ।]

मुख्यमन्त्री यादवले तेस्रो पटक २०८० फागुन ६ गते विश्वासको मत लिनुभएको थियो । त्यसबेला विश्वास मत प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत प्राप्त भएको हो । पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गर्नु भएको थियो । विपक्षमा भने नेकपा एमाले र जनमत पार्टीले मतदान गरेको थियो ।२०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादव पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।दश दलको प्रतिनिधित्व रहेको मधेश प्रदेश सभामा १०७ सदस्य छन् । जसमध्ये एमाले सबभन्दा ठुलो दल बनेको छ । मधेशमा सरकार बनाउन न्यूनतम ५४ सदस्यको समर्थन आवश्यक छ । सभामा नेकपा (एमाले) २५, नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी आठ, नेकपा (माओवादी केन्द्र) नौ, नेकपा (एकीकृत समाजवादी) पार्टी सात, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक प्रदेश सांसद छन् । लोसपामा एक जना सदस्य निलम्बनमा पर्नु भएको छ ।

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अब २७ प्रदेश सांसदको समर्थन मात्रै बाँकी रहेकाले मधेशका मुख्यमन्त्री यादव स्पष्ट रुपमा अल्पमतमा पर्नुभएको छ ।अर्कोतिर सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्रले जनमत, लोसपाको समर्थनमा नयाँ सत्ता गठबन्धन बनाउन बैठक, छलफललाई तीव्रता दिएका छन । अहिले एमाले २५, नेकपा माओवादी नौ, जनमतको १३ र लोसपाको आठ गरी ५५ जनाको समर्थन देखिएको छ । तर नेतृत्वको विषयमा भने नयाँ गठबन्धन बनाउने तयारीमा लागेका दलहरुबीच अहिलेसम्म कुनै सहमति भने भइसकेको छैन ।यता नेपाली कांग्रेस २२, जसपा १९ नेकपा (एस) सात, लोसपा आठ गरी ५६ सांसदको समर्थनमा अर्को गठबन्धन बनाउन पहल पनि भइरहेको एक नेताले बताएका छन । आफ्नो दलको अहिलेकै गठबन्धनमा समर्थन रहेको नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले बताउनुभएको छ ।

मधेश प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ परिस्थिति आएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले नयाँ गठबन्धन बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व रहेका दलका नेताहरूसँग छलफल भइरहेको बताउनुभयो ।यसैबीच उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएलगत्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्नुभएको छ ।सोमवार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उहाँकै निवास पुग्नुभएको थियो । भेटमा उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेको यादवका स्वकीय सचिव महेश चौरसियाले बताउनुभयो ।

‘विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि लोसपाको साथ र सहकार्यका लागि उहाँहरूबीच भेट भएको हो,’ चौरसियाले भन्नुभयो, ‘एउटै भेट पर्याप्त नबन्न सक्छ ।’आइतबार मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमाालेले समर्थन फिर्ता लिएको थियो । अध्यक्षले सहकार्यका लागि प्रस्ताव गर्नुभएको हो, उहाँ महन्थले पनि विचार गर्नेछु भन्नुभएको छ ।’ उहाँले दुई नेताबीच भएको संवाद सुनाउदै भन्नुभयो ।कांग्रेस, नेकपा (एस) र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न पुगेको स्रोतको भनाई छ । यही छलफलबाट निचोडमा पुग्नेगरी निर्णय भने नभएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply