कलैया,बारा महागढीमाई नगरपालिका बरियारपुुरमा लाग्ने गढीमाई मेलालाई भव्य र व्यवस्थित बनाउनको लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको तर्फबाट ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।महागढीमाई नगरपालिकाले मंगलबार आयोजना गरेको सल्लाह र सुझाव संकलन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मुख्यमन्त्री सिंहले सो कुराको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले उक्त रकम मेला व्यवस्थापन, खानेपानीको बोरिङ तथा टावर लाइट जडान, स्वास्थ्य सेवा र सीमा नाका खुलाउने काममा प्रयोग गरिने बताउनुभएको छ । साथै, मेलामा सुरक्षा व्यवस्था मजबुत बनाउन र पालिकाहरूलाई म्यादी प्रहरी परिचालन गर्न पनि आग्रह गर्नुभयो ।कार्यक्रममा जिल्ला विकास समिति बाराका पूर्वसभापति छठुप्रसाद यादवले मेलामा व्यापारीहरूलाई अत्यधिक मूल्यमा जग्गा भाडामा लगाउने कार्यको अन्त्य गर्न सुझाव दिनुभएको थियो । उहाँले मेलामा पिउने पानीको व्यवस्था र निःशुल्क भोजन वितरणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पनि सुरक्षा व्यवस्था थप सुदृढ बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मेलामा ४ देखि ५ सय सिसिटिभी क्यामरा जडान गरिने जानकारी दिनुभयो । मेलामा ट्राफिक व्यवस्थापन, आवश्यक सुरक्षाकर्मीको परिचालन र ड्रोन क्यामरा चलाउन विशेष अनुमति अनिवार्य गरिने उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, पर्यटनमन्त्री सकिल मियाँ, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ लगायत बारा जिल्लाका स्थानीय तहका प्रमुखहरू, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा गढीमाई मन्दिरका पूजारीहरूको विशेष उपस्थिति रहेको थियो ।गढीमाई मेलाको शुभारम्भ असोज १७ गते भव्य कलश यात्रासँग गरिने छ भने मंसिर २२ गते राँगाको र २३ गते बोकाको बली चढाइने कार्यक्रम छ ।कार्यक्रमका सहभागीहरुले भक्तजनलाई सहज मन्दिर प्रवेश तथा निःशुल्क भोजनको व्यवस्था गर्ने सुझाव पनि दिएका थिए ।


















