यसो भनिरहदा एमालेबाट प्रेरित वा यसैका पत्रिका हो यो भनेर पनि प्रचार गरिएला र यदाकदा यस्तो सुनिन्छ पनि ।
जनताको पक्ष र सत्यको पक्षमा वकालत गर्दा झट्ट कसैतिर भावनामा मेल खाए पनि यो केवल संयोग मात्रै हो ।
यहाँ कुरा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको गर्न खोजिएको हो । बाराको मात्र होइन पछिल्ला दिनमा घटेका घटना हेर्दा जीतपुरसिमरामा संभवतः नेपालकै अराजकहरुको थलो बन्दै गइरहेको आभास हुन थालेको छ । स्वभाविक रुपमा यसको दोष नेतृत्वकर्ताको हिसावले नगर प्रमुखमाथि नै जान्छ ।
फेरि नगर प्रमुखले फलाना प्रशासकीय अधिकृत चाहिन्छ भनिरहनु झन् ठूलो अराजकता हो । दरबन्दी अनुसार माथिल्लो दर्जाको कर्मचारी आएपछि खुसीकासाथ स्वागत गरेर हाजिर गराउनुपर्नेमा उल्टै उनलाई हाजिर गर्न नदिएर फर्काउने र कनिष्ट कर्मचारीलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर राख्ने कार्यलाई कसले पो सही भन्न सक्लान र नगर प्रमुखको यो कदमको जीतपुरसिमरामामात्रै होइन देशभरि नै राम्रो सन्देश गएको छैन ।
जीतपुरसिमराका नगर प्रमुख खराब अनि वडा अध्यक्षहरु ठीक पनि भन्न खोजिएको होइन तर नेतृत्वमा रहेर गर्नुपर्ने जिम्मेवारीको सवालमा नगर प्रमुखको कमजोरी छ ।फलाना प्रशासकीय अधिकृत, फलाना नभए हुदैन । यस्तो कुराले वा शैलीले काम गर्नका लागि अन्ततः नगर प्रमुखलाई नै असहज हुने हो र जुन अहिले भइरहेको छ । कर्मचारी भनेको त सरकारको प्रतिनिधि हुन् । जो आएपनि आखिर नीतिमा चल्ने हो । नियममा नै चल्ने हो ।
कानुनले मेयर र प्रशासकीय अधिकृतको जिम्मेवारी पनि त स्पष्ट पारिदिएको छ । यो विषयमा नगर प्रमुख अनविज्ञ रहेको पनि देखिदैन । संधै समस्या बोकेर वा समस्या सृजना गरेर नगरको विकास पनि हुने होइन ।जनप्रतिनिधि आजीवन शासक बन्ने पनि होइन । यो हेक्का नगर प्रमुखसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यसम्मले राख्न आवश्यक छ । कर्मचारीले तलबका लागि काम गर्ने हो भने जनप्रतिनिधले सेवाका लागि अनि फेरि विवाद र समस्या के का लागि ? अनि अराजक बनेर किन रजगज ?














