दिपेन्द्र जैयसवाल
गन्जभवानीपुर,बाराको करैयामाईमा पुस ३० गतेदेखि माघ २ गतेसम्म थारू राष्ट्रिय माघी महोत्सव २०८२ धुमधामका साथ आयोजना हुने भएको छ । महोत्सवको तयारी बारे पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिका संयोजक तथा थारू कल्याण कारिणीसभाका बाराका अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार महोत्सवको उद्घाटन थारू कल्याणकारिणीसभाका केन्द्रीय उपाध्यक्ष हरिनारायण चौधरीले गर्नेछन् । महोत्सवले थारू संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्य राखेको छ ।

महोत्सवमा झाँकी ¥याली, मूल उद्घाटन समारोह, थारू सांस्कृतिक प्रस्तुतिहरू, थारू खानपिन प्रदर्शनी र बिक्री, सीप हस्तकला र पुस्तक प्रदर्शनी प्रमुख आकर्षण हुनेछन् । थारू सांस्कृतिक नृत्य–गीतहरूमा मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा लगायत दुई दर्जनभन्दा बढी प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी, महोत्सवमा थारू जातिका विशेष माघी परिकार जस्तै ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार आदिको व्यवस्था गरिनेछ ।थारू समुदायले माघी पर्वलाई आफ्नो नयाँ वर्षको रूपमा मनाउँदै आएको बताइएको छ । आयोजकले महोत्सवमा सबै वर्गका सहभागीलाई स्वागत गर्दै कार्यक्रमको भव्यताका लागि उपस्थित हुन अपील समेत गरेको छ ।



















