सिम्रौनगढ,तरकारी खेतीको लागि नेपालमा प्रशिद्धी कमाएको बाराको सिम्रौनगढ क्षेत्रका किसान अन्नबाली खेतीतर्फ आकर्षित बन्न थालेका छन ।विगतका वर्षहरुमा सिम्रौनगढका किसानहरुले हिउँदयाममा आलु, फूल, बन्द कोभी कोसे केराउ र राजमा जस्ता तरकारीको खेती गर्ने गरेका थिए । आलु उत्पादनको दृष्टिले सिम्रौनगढ देशभरि नै प्रशिद्ध छ । तर केही वर्षदेखि यहाँका किसान उन्नत जातको मकै खेतीमा आकर्षित बनेकाछन ।

भारतबाट अवैधरूपमा भित्रिने सस्तो आलुको कारण बजारमा मूल्य नपाएपछि किसानहरू मकैखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।स्थानीय किसानहरूका अनुसार पछिल्ला तीन वर्षदेखि मकै खेतीप्रति आकर्षण बढ्दै गएको हो । पहिलो वर्ष देखिएको प्रभाव अहिले तेस्रो वर्षमा आउँदा स्पष्ट देखिन थालेको छ ।
सिम्रौनगढ क्षेत्रअन्तर्गत सिम्रौनगढ, अमृतगञ्ज, झवानी, इँटवाल, कचोर्वा, सतुवाई, सलमपुर, खजानी, झौवाही, हरिहरपुर, कनकपुर, देवापुरटेडा, भगवानपुरलगायतका बस्तीहरूमा पहिले आलुखेती गर्ने अधिकांश किसानले यसपटक मकै रोपेका छन् । अहिले मकै प्रमुख बाली बनेको छ भने त्यसपछि गहुँ, आलु, काउली र हरियो केराउ (कोसा) को खेती हुने गरेको छ ।
किसानहरूका अनुसार आलुखेती गर्न बीउ, मल, विषादी लगायत खर्च मिलाएर प्रतिकट्ठा करिब रु ३ हजार लागत पर्छ । तर भारतबाट सस्तो आलु आयात भएर बजारमा मूल्य घटेपछि लगानीअनुसार आम्दानी नहुँदा उनीहरू बिस्तारै आलु खेतीबाट विमुख बन्न थालेका हुन् । तीन वर्षअघि मुख्य बाली मानिने आलु अहिले दोस्रो वा तेस्रो बालीको सूचीमा झरेको छ ।
सिम्रौनगढसंग सीमा जोडिएको छिमेकी परौता नगरपालिकामा भने आलुखेती अझै पनि मुख्य बालीको रूपमा रहिरहेको छ । बनौली, श्रीनगर, बैरिया, चिकनी, बेलदारी, बडहर्वा क्षेत्रमा यसअघि असोज १८ र कात्तिक १२ गतेको वर्षाले दुई सय बिघाभन्दा बढी आलुखेती नष्ट भए पनि किसानहरूले आलु खेतीलाई नै प्राथमिकतामा राखेका छन् । यहाँ आलुपछि गहुँ, काउली र कोसा खेती पनि ठूलो परिमाणमा गरिन्छ ।कृषकहरूका अनुसार अवैध आयात नियन्त्रण र उचित मूल्य सुनिश्चित भए मात्र आलुखेती पुनः आकर्षक बन्न सक्नेछ ।



















