वीरगञ्ज । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । घटनापछि सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ ।
घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन् । समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
शनिबार फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रमका क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।
प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै नवनिर्मित अस्पतालको शिलालेख तोडफोड गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ । घटनाका बेला लामाले सुरक्षाको कमान्ड सम्हालिरहेका थिए ।
अस्पताल उद्घाटन कार्यक्रमलाई लिएर नेकपा एमालेले यसअघि नै विरोध जनाउँदै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका व्यक्ति पार्टी एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को नेतृत्वमा छन् ।
नवनिर्मित अस्पताल उद्घाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा गाउँपालिका पुगेकी थिइन् । एमालेले कार्यक्रम बिथोल्ने क्रममा झडप भएको बताइएको छ ।
घटनाको वास्तविक कारण, सुरक्षाको व्यवस्थापन र प्रहरीको गोली प्रहारबारे छानबिन समितिले प्रतिवेदन बुझाएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
















