गोकुल घोरसाइने
निजगढ,धान खेतमा बार हालेर आलीमा जडान गरिएको विद्युतीय तारमा अल्झेर बाराको कोल्हबी नगरपालिका भलुहिखोरमा आइतवार बिहान एउटा बयस्क हात्ती मरेको छ ।कोल्हबी नगरपालिका वडा नम्बर २ भलुहिखोर पर्साकुनामा रमेश जिसीको धान खेतको आलीमा जडान गरिएको जिआइ पाईपमा प्रवाह भएको विद्युतीय तारमा अल्झेर शनिवार राति हात्ती मरेको हो । जिसीले वन क्षेत्रको जमिन अतिक्रमण गरी लगाएको बाली जंगली जनावरबाट जोगाउन खेत र जंगलको सीमानामा विद्युत प्रवाह हुने जिआइ र काँढे तारले घेरेका थिए । आलीको डिलमा धान खेततर्फ सुड लत्रिएको र जंगल क्षेत्रभित्र लडेको अवस्थामा हात्ती मृत फेला परेको हो ।
घटनास्थलको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानमा धान खान भनेर राति खेतमा आएको हात्ती विद्युतीय तारमा परेर मरेको हुनसक्ने डिभिजन वन कार्यालय सिमरा बाराका डिएफओ राजिवकुमार झाले जानकारी दिनुभएको छ । ‘सुडमा जिआइ तार र संगै रहेको काढेँ तार पनि बेरिएको अवस्थामा हात्ती मृत फेला परेको थियो, डिएफओ झाले भन्नुभयो, तर करेन्ट वा अन्य कुनै कारणले मृत्यु भएको भन्ने बारेमा भने पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै यकिन हुनेछ ।’ उहाँले पोष्टमार्टमको लागि पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आवश्यक प्रक्रिया पूरा गरिसकेको जानकारी पनि दिनुभयो । उहाँले घटनाको अनुसन्धानसंगै संलग्नहरुको खोजबिन पनि थालिएको बताउनुभयो ।
प्रहरी र वन सुरक्षाकर्मीले तारमा करेन्ट प्रवाह गरेर हात्ती मारेको आशंका गरेका छन । सुरक्षाकर्मीको टोलीले घटनास्थालबाट करिव डेढ सय मिटर पश्चिममा रहेको सन्तमान विकको घर अडाडिबाट तानिएको करिव १५० मिटर जिआई तार र हुकिङ्गको लागि प्रयोग गरिने बाँसको एउटा भाँटा पनि फेला पारेर नियन्त्रणमा लिएको छ । विकले भने करेन्ट प्रवाह भएको तारले घेराबारा गरिएको खेत आफ्नो नभएको र राति अरु कसैले आएर सो तारमा बिजुली प्रवाह गरेको हुनसक्ने बताउनुभएको छ । ‘म घरमै सुतेको थिएँ, कसले के गर्यो र हात्ती कसरी म¥यो भन्ने बारेमा केही जानकारी छैन ।’ गाउँका अरु मानिस आएर बिहान होहल्ला गरेपछि मात्रै आफूले हात्ती मरेको चाल पाएको उहाँले बताउनुभयो । उहाँले यसअघि पनि गाउँका केही मानिसहरु आएर आफ्नो घरअगाडिको बिजुलीको पोलबाट हुकिङ्ग गरेर जिआइ तारमा करेन्ट प्रवाह गर्ने गरेको हुनसक्ने सुनाउनुभयो । विकका अनुसार स्थानीय रमेश जिसी, श्याम खनाल, बले खनाल र राजु उप्रेतीले बिगतमा सो स्थानमा राखिएको तारमा रातको समयमा हुकिङ्ग गरेर विद्युत छोड्ने गरेका थिए ।
स्थानीयका अनुसार जंगल आसपासमा जंगली जनावारबाट जोगाउन किसानहरुले वर्षौदेखि विद्युत प्रवाह हुने तारले खेतबारीमा घेराबारा गर्दैआएका छन । शनिवार राति ९ बजे नजिकैको काँटगाउँमा ३ वटा जंगली हात्ती देखापरेको र गाउँलेले होहल्ला गरेर सो स्थानबाट धपाएका थिए । सोही बथानबाट धान खान आएको एउटा हात्ती करेन्ट लागेर मरेको हुनसक्ने कोल्हबी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपाल अधिकारीले बताउनुभयो । खेतमा पाक्ने बेला भएको धान खान आउने क्रम बढेपछि सो क्षेत्रमा एक सातायता हात्तीको गतिविधि तीव्र हुदैआएको थियो ।घाँस, दाउरा गर्न गएका स्थानीयले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबी, डिभिजन वन कार्यालय सिमरा र पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । मृत हात्तीको पूजा गर्न र हेर्न आउने स्थानीयको बिहानदेखि नै भीड लागेको थियो । स्थानीयको भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत केही बेर हम्मेहम्मे परेको थियो ।तामागढी साझेदारी वन क्षेत्रमा पर्ने उक्त क्षेत्रमा मानव र वन्यजन्तुबीच वर्षौदेखि द्वन्द चल्दैआएको छ । हात्ती, बाघ जस्ता ठूला र साना वन्यजन्तुको बासस्थानको रुपमा रहेको सो क्षेत्रमा हात्तीको बथानले किसानको बाली खाने र बाघले घरपालुवा चौपाय मार्ने क्रम पनि चल्दैआएको छ । सो क्षेत्रमा हात्तीको आक्रमणबाट ४ वर्षअघि सोही गाउँकी एक महिलाको ज्यान गएको थियो भने ५ महिनाअघि उक्त क्षेत्रमा एउटा पाटे बाघ टाउकोमा गोली लागेर मरेको अवस्थामा फेला परेको थियो ।


















