कलैया,बाराको प्रसौनी गाउँपालिका प्रसौनी गाउँपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष वृजकिशोर कुशवाहाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका प्रधानाध्यापक पवन सिंहमाथि कुटपिट गरेको आरोप लागेको छ ।

वडा अध्यक्ष कुशवाहाले विद्यालयको कार्यालयमै थुनेर कुटेको प्रधानाध्यापक सिंहको दाबी छ । गत असोज ८ गते विद्यालयमा शिक्षक र कर्मचारीहरुसंग बसेर छलफल गरिरहेको अवस्थामा वडा अध्यक्ष कुशवाहाले सबैलाई बाहिर निकालेर आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक सिंहले बताउनुभएको छ । ‘पहिले वडा अध्यक्ष आएर फर्किनु भयो, प्रअ सिंहले भन्नुभयो, एकछिनपछि अध्यक्षसंगै आएका ५–६ जना युवाहरुको समुहले निर्धात कुटपिट गरे ।’

कुटपिटबाट प्रअ सिंहको नाकको हड्डी भाँचिएको, बायाँ कानमा रगत जमेको र जाली फुटेको बताइएको छ । वीरगन्जमा उपचारपछि चिकित्सकको सल्लाहमा आराम गरिरहेको सिंहले बताउनुभयो ।

घटनाको विरोधमा विद्यालयका शिक्षकहरुले विज्ञप्ति निकालेर प्रधानाध्यापक सिंहमाथि कुटपिट गर्ने दोषिमाथि कारबाही गर्न माग गरेका छन् । शिक्षकहरुका अनुसार वडा अध्यक्ष कुशवाहा र प्रअ सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन । दुई वर्षअघि प्रधानाध्यापक सिंह सरुवा भएर विद्यालय आउँदा वडा अध्यक्ष कुशवाहाले हाजिर गर्न रोक लगाएपछि प्रअ सिंहसंग सम्बन्ध बिग्रिएको हो । कुशवाहाको अवरोधका बाबजुद सिंहले विद्यालयमा हाजिरी गर्नु भएको थियो ।

उता, वडा अध्यक्ष कुशवाहाले भने आफूले प्रधानाध्यापक सिंहमाथि कुटपिट गरेको आरोप झुटो भएको बताउनुभएको छ । उहाँले केही विद्यार्थी आएर प्रअ सिंहमाथि हातपात गरेको बताउनुभयो । ‘विद्यालयका केही विद्यार्थीहरु आएर प्रअ सिंहमाथि हातपात गर्दै थिए, वडा अध्यक्ष कुशवाहाले भन्नुभयो, बरु रोकेर मैले नै उहाँलाई बचाएको हुँ ।’ प्रधानाध्यापक सिंह अघिल्लो दिन विद्यालयमा अनुपस्थित रहेको र विद्यालयको पठनपाठन अवरुद्ध भएको जानकारी पाएपछि सो बारेमा कुरा गर्न आफू सो दिन विद्यालय पुगेको तर कुटपिटको घटनामा आफू संलग्न नरहेको उहाँको भनाइ छ ।

Leave a Reply