कलैया,बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनिया बजारको सडक छेउमा असार ३ गते हत्या गरि फालिएको अवस्थामा भेटिएका भरवलीया गाँउका २५ बर्षिय युवक भादो बैठाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक साधु सहित दुई जनालाइ पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।
बैठाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बरैनिया बजारमा रहेको हनुमान मन्दिरका साधु दास बाबा भन्ने ७२ बर्षिय वीरबहादुर यादव र फेटा गाँउपालिका वडा नम्बर ३ फुलवरिया टोलका ३५ बर्षिय पारस महत्तो धानुकलाइ पक्राउ गरेको हो ।
मन्दिरमा साधु यादवले राखेको गाँजा र पैसा चोर्न भनेर असार ३ गते बिहान २ बजेतिर गएका बैठालाई सुरुमा साधु यादवले चिम्टाले टाउकोमा हानेको र त्यसपछि उनीसंगै सुतेका धानुकले पनि बासको भाठाले हानेर मारेको प्रहरीको अनुसन्धानमा खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । हत्यापछि बैठाको शव दुबैजनाले घिसारेर सडक छेउमा पुरयाएर छाडेको बयान दिएको मिश्रले जानकारी दिनुभयो ।