बझाङ – बझाङमा मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।जयपृथ्वी नगरपालिका– ११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिरोमा परि बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीको जिल्ला अस्पताल र केहीको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।यसैबीच भूकम्पपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीले एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराएका छन् । दिउँसो सुत्केरी हुन जिल्ला अस्पताल बझाङ पुगेकी तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षकी मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिनुभएको जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा र शिशुको अवस्था सामान्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here