वीरगन्ज,वीरगञ्ज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाहीपछि सिर्सिया नदी प्रदूषणर्मो मुख्य जिम्मेवार रहेका उद्योगहरूले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।नदी प्रदूषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरू नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा नै सिलबन्दी गर्ने मेयर सिंहको चेतावनीपछि उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट बनाउने काम अगाडि बढाएका छन् ।यसअघि नदी प्रदूषणमा मुख्य जिम्मेवार देखिएका पाँच वटा उद्योगलाई पटक–पटक चेतावनी दिँदा पनि प्रदूषण गर्न नछाडेपछि महानगरपालिकाले ३÷३ लाख रुपैयाँ जरिबाना गरिएको थियो ।महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेका छन् । ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर, दुर्गा पल्स एन्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ । समितिले आइतवार र सोमवार नदी आसपासमा रहेका उद्योगहरूको अनुगमन गरेको थियो ।
















