नेपाल पत्रकार महासंघ, नेपाली पत्रकारहरुको छाता संगठन हो । यसले श्रमजीवी पत्रकारहरुको हकहितमा आवाज उठाउनु साथै पत्रकारहरुका लागि आवश्यक दिशानिर्देश गर्ने काम पनि गर्दछ ।निकै ओझिलो र गौरवपूर्ण इतिहास रहेको नेपाल पत्रकार महासंघको गरिमामा पछिल्ला दिनमा भने आँच ल्याउने काम भइरहेको पाइएको छ । मुख्यरुपमा महासंघको वर्तमान कार्यसमिति पत्रकार महासंघको व्यवसायिकताको सवालमा चुकेको छ ।
विधानअनुसार पत्रकार महासंघको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो नभए पनि जेठमा त्यो पनि नभए असार तर यहाँ त पटक पटक घोषणा गर्दै अन्तिम पटक असोज ५ को लागि घोषणा गरिएको मितिमा समेत चुनाव हुने संभावना टरेको जस्तो देखिएको छ ।
त्यसैले पनि होला पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले हालै पदबाट राजिनामा दिएको । यो सवालमा केवल अध्यक्ष मात्र दोषी छैनन् । नैतिक रुपमा अध्यक्ष बढी दोषी भएपनि आम पत्रकारहरुको नजरमा वर्तमान कार्यसमिति नै दोषी छ र समयमा नै चुनाव गराउन नसकेकोमा यो कार्यसमितिले नै आम पत्रकारसंग माफी माग्नु पर्दछ र चुनाव गर्न नसक्दाका कारणहरु स्पष्टसंग बताउन सक्नुपर्दछ ।
महासंघ देशभरका सबै पत्रकारहरुको साझा संस्था भएकाले यसको महत्वसंग सबै पत्रकारहरुको साइनो जोडिएको छ । कसैले चाहेर पनि पत्रकार महासंघलाई बन्धक बनाउने कुरा राम्रो होइन ।लोकतान्त्रको सबैभन्दा धेरै अभ्यास पत्रकारले नै गर्ने हो र यसका लागि चुनाव नै उपयुक्त हो तर पत्रकारकै संगठनको यो अवस्था हुन्छ भने अरुलाई के भन्ने ? पदमा रहेकाहरुले यसको जवाफ दिनुपर्दछ न कि आफ्नो स्वार्थ अनुसारको व्याख्या गर्ने छुट छदैछैन ।














