वीरगन्ज,वीरगन्जमा कारोना संक्रमण र त्यसबाट हुने मृत्यु दर अप्रत्याशीत रुपमा बढ्दै गएपछि त्यसलाई रोक्न भन्दै पर्सा जिल्लामा स्थानीय प्रशासनले बिहिबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएको छ । मंगलबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसीएमसीको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबारदेखि एक हप्ताका लागि निधेषज्ञा लगाउने निर्णय गरेको हो । बैशाख १६ गते बिहीबार बिहान ४ बजेदेखि बैशाख २२ गते मध्य रात १२ बजेसम्म लागु हुने गरी वीरगन्ज सहित पर्सा जिल्लामा निधेषज्ञा लगाउने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । वीरगन्ज सहित पर्सा जिल्लामा बढ्दो कोरोना संक्रमणलाई तत्काल रोकथाम र नियन्त्रण गर्न आवश्यक देखिएकाले अहिले एक हप्ताका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको घिमिरेले बताउनुभयो । निषेधाज्ञा अवधि भर औषधी उपचार एंव अति आवश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिड्डुल गर्न पाइने छैन । निषेधाज्ञा अवधिभर औषधी र खाद्यवस्तु सम्बन्धित पसल बाहेक अन्य सबै पसल, व्यवसाय र बजार बन्द रहने स्थानीय प्रशासनको निर्णयमा उल्लेख छ । खाद्य वस्तुका पसलहरु भने बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । निषेधाज्ञामा सवारी साधनको हकमा भने स्वास्थ्य सेवा, त्यससंग सम्बन्धित कर्मचारीले प्रयोग गर्ने सवारी सधान, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न र फलफुल, पेट्रोलयम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायतका ढुवानीका सवारी साधनहरुमात्र सन्चालनमा ल्याउन पाइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीय प्रशसनको अनुमति प्राप्त पास लिएका बाहेकका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु पनि सन्चालन गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा बसेको डिसिएमसीको बैठकले जिल्लामा कोरोना परीक्षणको दायरा बढाउने निर्णय गर्दै संक्रमितहरुको कन्ट्याक्ट ट्रेसीङको जिम्मा सम्बन्धित पालिकाहरुलाई दिने निर्णय पनि गरेको छ । यस्तै बैठकले कारोना संक्रमणको पहिलो लहरका बेला नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी विशेष अस्पताल पुनः सन्चालनमा ल्याइ सरकारले तोकेको मापदण्ड भित्र रहेर संक्रमितको उपचार गर्न गराउन मेडिकल कलेजलाइ अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले भारतबाट वीरगन्ज नाका हुदै आएकाहरुलाई राख्नका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिनुभयो । भारत तथा अन्य मुलुकबाट आफनो पालिकामा आएकाहरुलाइ सम्बन्धित पालिकाले सामुदायिक आइशोलेसन सेन्टरमा वा होम आइशोलेसनमा कम्तिमा १० दिन राख्नु पर्ने निर्णय पनि डिसिएमसीको बैठकले गरेको छ । यस्तै कोरोना संक्रमितको उपचारका लागि वीरगन्जमा कम्तिमा २ सय बेड क्षमताको कोभिड स्थायी अस्पताल निर्माण र सन्चालनका लागि प्रदेश २ सरकारलाइ अनुरोध गर्ने निर्णय पनि भएको श्रीवास्तवले जानकारी दिनुभयो ।

पर्सा जिल्लामा यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला २ पटक निषेधाज्ञा लगाइएको थियो । गत वर्ष बैशाख ३० देखि जेठ ५ गतेसम्मका लागि पहिलो पटक र दोश्रो पटक साउन १० गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको थियो । अहिले फरि संक्रमण वृद्धि दर र मृत्यु दर दुबै बढ्दै गएपछि संक्रमणको साङगलो तोड्न एक हप्ताका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता मंगलबारसम्म वीरगन्जमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भइसकेको छ ।

वीरगन्जको नारायणी अस्पतालमा १३, नारायणी बयोधा अस्पतालमा ३ र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १७ जनामध्ये पर्साका १२, बाराका ४ र सर्लाहीका १ जना हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सा जिल्लामा बैशाख १४ अर्थात मङगलवारसम्म सकृय संक्रमित ८ सय ४६ जना छन् । अस्पतालमा बेड नपाएका कारण ७ सय ९८ जना संक्रमित आआफनो घरको होम आइशोलेसनमा बस्न बाध्य छन् । मंगलबार अपरान्हसम्म नारायणी अस्पतालमा ५३ जना जटिल अवस्थाका संक्रमित उपचाररत छन् । ती सबैलाई अक्सिजन लगाएर राखिएको र ती मध्ये पनि ६ जनाको अवस्था निक्कै जटिल रहेको अस्पतालका कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । यस्तै नारायणी बयोधा अस्पतालमा १२ जना संक्रमित उपचाररत रहेको डाक्टर दासले बताउनुभयो ।

Leave a Reply