कोरोनाका कारण मृत्यु हुने क्रम बढन थालेपछि वीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । वीरगंजमा शुक्रबार दुईको मृत्यु भएको छ । निमोनिया भएर केही दिनअगाडि वीरगञ्जको एक निजी अस्पतालमा भर्ना भएकी ८५ वर्षीया वृद्धा र बाराको परवानीपुरकी अर्की एक किशोरीको पनि वीरगंजमा नै मृत्यु भएको हो । वृद्धालाई वीरगञ्जको नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकमा बिहिबार भर्ना गरिएको थियो । मृतक महिलामा बिहीबार राति नै संक्रमण पुष्टि भएको कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो । पहिले मुटुको बिरामी रहेकी वृद्धालाई पछिल्लो समयमा निमोनिया भएर अस्पतालमा भर्ना गरिएको र सोही क्रममा स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । केहीअगाडि बिरामीलाई वीरगञ्जको एड्भान्स हस्पिटलमा भर्ना गरिएकोमा कोरोनाको लक्षण देखिएपछि उनको स्वाब संकलन गरिएको थियो । त्यसैगरी कोरोना संक्रममित बाराको परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको छ । अस्पतालका चिकित्सक निरज सिंहले दिएको जानकारीअनुसार किशोरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगेर आकस्मिक कक्षमा भर्ना गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।
आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार नै गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताउनुभयो । उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको डा अन्सारीले बताउनुभएको छ । इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ । गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । योसहित कोरोनाका कारण पर्सामा दुई दिनभित्र ३ जनाको मृत्यु भएको छ । बुधबार राति पनि कोरोनाका कारण वीरगञ्जको माईस्थानका ७० वर्षीय वृद्धको पनि मृत्यु भएको थियो । गण्डकको कोभिड अस्पताल उपचार गराइरहेका ७५ जना सङ्क्रमित मध्ये दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ५ बजेबाट वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेपछि सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेको हो । यसअघि बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने निर्णय भएको बैठकमा सहभागी नेकपा पर्साका अध्यक्ष प्रभू हजारले बताउनुभयो । वीरजंगमा कोरोना भाइरसबाट मृत्यु हुने क्रम बढेको र संक्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल र व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो । कोरोना भाइरसको सङ्क्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय भएको छ । स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here