निजगढ,नेपाल विद्युत प्राधिकरण निजगढ उपवितरण केन्द्रले लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकले जडान गरेको बिजुलीको लाईन काटने तयारी गरेको छ ।विद्युत प्राधिकरण निजगढ उपवितरण केन्द्रले एक सूचना जारी गरेर विद्युत मिटरको शुल्क समयमै भुक्तानी नगर्ने ग्राहकहरुको घर, होटल र कारखानामा जडान गरिएको विद्युतको लाईन काटिने जानकारी गराएको हो ।
सूचनामा भनिएको छ,– निजगढ उपवितरण केन्द्रअन्तर्गतका केही ग्राहकहरुको विद्युत महशुल लामो समयदेखि बाँकी रहेको छ, यथाशीघ्र भुक्तानी नगरेर जुनसुकै समयमा पनि विद्युत कनेक्सन काटिने छ ।’विद्युत शुल्क नियमावलीले मिटर रिडिङ्ग हुने मितिले ६०औं दिनसम्म पनि बिजुलीको महशुल नबुझाउने ग्राहकको बिना सूचना जुनसुकै समयमा पनि कनेक्शन काट्न सकिने र बक्यौता रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले सोही प्रावधानको आधारमा लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डलले जानकारी दिनुभयो । उहाँले ग्राहकहरुलाई यथाशीघ्र आफूले प्रयोग गरेको बिजुलीको महशुल रकम बुझाउन आग्रह पनि गर्नुभएको छ ।

















