कलैया,बारा प्रहरीले विभिन्न स्थानबाट भन्सार छली, बिलबिजकभन्दा बढी र स्रोत खुलाउन नसकेको ३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको समानहरू नियन्त्रणमा लिएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया चोकमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कट्टु १८ पिस, सुतीको गम्छा २६ पिस गरी अन्दाजी १८ हजार बराबरको सामान नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी ईलाका जीतपुरले बुधवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर चौकबाट ना.१ ज ३२४२ नम्बरको म्याजिक गाडीलाई रोकी चेकजाँच गर्दा डिक्कीभित्र लुकाई छिपाई लगि रहेको आवस्थामा ९ हजार मूल्य बराबरको २ बोरा चिनी नियन्त्रणमा लिएको हो ।
यस्तै वीरगञ्बाट काठमाण्डौतर्फ जादै गरेको ना. ७ ज ५९२७ नम्बरको डिब्बे ट्रकलाई रोकी चेकजाचँ गर्दा बिलबिजकभन्दा बढी र श्रोत खुलाउन नसकेको २७ लाख ५० हजार ५ पाँच सय ८९ रुपैया मूल्य बराबरको खुद्रा सामानसहित डिब्बा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोही क्रममा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ घोडासहनबाट भन्सार छली गरी ल्याउदै गरेको २० हजार बराबरको किसमिस र प्रहरी चौकी पथलैयाले बिराटनगरबाट काठमाण्डौँतर्फ जादै गरेको प्र. १–०२–००२– ख ०१६२ नम्बरको बसलाई रोकी चेक जाँच गर्दा बिल बिजकभन्दा बढी रहेको ३ लाख १६ हजार ८ सय बराबरको ३ सय ९६ पिस कपडा नियन्त्रणमा लिएको हो ।यस्तै रौतहटबाट काठमाण्डौँतर्फ जादै गरेको प्र.०३–००१ ख २४९७ नम्बरको बसलाई पथलैया चौकमा रोकी चेकजाचँ गर्दा बसको डिक्कीभित्र लुकाई छिपाई राखिएको अवस्थामा २७ हजार बराबरको ५० किलो चिनी, ४ सय किलो प्याज, ४० किलो सुर्ती नियन्त्रणमा लिएको छ भने सिम्रौनगढको प्रहरी चौकी कचोर्वाले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरीयाबाट भन्सार छली गरी ल्याउदै गरेको १० हजार मूल्य बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नियन्त्रणमा रहेको सामान र ट्रक आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बुझाइएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।



















