पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरमा बुधवार अघिपछिकोभन्दा बेग्लै माहोल थियो । सधैजसो हाँसीखुसी पठनपाठन गर्ने विद्यालयका शिक्षक र विद्यार्थीहरु उक्त दिन निकै भावुक देखिन्थे ।

विद्यालयमा कार्यरत दुईजना अवकाश प्राप्त शिक्षकको बिदाइ कार्यक्रममा विद्यालयमा खुसी र पीडा मिश्रित माहोल बनेको हो । विद्यालयका शिक्षक, विद्यार्थी र अभिावकहरुले मन गरुङ्गो पार्र्दै आँखाभरि आशु राखेर शिक्षक रोहितप्रसाद चौधरी र कृष्णचन्द्र प्रसाद कलवारको सम्मानसहित भव्य विदाई गरेका हुन । ६० वर्षे उमेर हदका कारण यसै महिनामा अनिवार्य अवकास पाएपछि विद्यालयले दुबै जना शिक्षकको बुधवार विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयले विशेष कार्यक्रमको आयोजना गरि शिक्षक विद्यार्थी र अविभावकहरुले दोसल्ला ओडाएर सम्मानसहित अविरमाला र प्रमाण पत्र प्रदान गर्दै बाजा धन्काएर बजार परिक्रमा गराएपछि शिक्षकद्वयलाई घरघरमा पु¥याएर छोडेका थिए ।
‘गुरु र चेलाको सम्बन्ध भावनात्मक हुन्छ भन्ने त सुनिएको थियो, सोही विद्यालयका विद्यार्थीसमेत रहनुभएका प्रेम लामाले भन्नुभयो, आफूलाई लामो समयसम्म शिक्षा दिने गुरुको बिदाइ गर्दा यो कुराको राम्रो अनुभूति भयो ।’ उहाँले एउटा असल शिक्षकको बिदाइमा सबैको मन गरुङ्गो भएको सुनाउनुभयो ।२०४६ साल पौष २ गते एकै दिन शिक्षण पेसामा प्रवेश गरेका दुबै शिक्षकले १३ दिनको अन्तरालमा अवकाश प्राप्त गरेका हुन । चौधरीले भदौं महिनाको ८ र कलवारले २१ गते अवकाश पाएका हुन ।

करिब ४० वर्ष शिक्षण पेसामा संलग्न चौधरीले सोही वडाको रघुनाथपुरमा ६ वर्ष, वडा नम्बर १५ को डुमरवानमा ३२ वर्ष र जैतापुरमा २ वर्ष अध्यापन गर्नुभएको थियो । जैतापुरमा २ वर्ष प्रधानाध्यापक समेत हुनुभएका चौधरीले अवकाशपछिको जीवन समाज सेवामा खर्चिने बताउनुभएको छ । ‘सेवा अवधिमा ३÷४ वटा विद्यालयमा सरुवा भइयो, पटक पटक विद्यालयबाट बिदाइ पनि भइयो, तर अवकाशपछिको बिदाई भने साच्चिकै पीडादायी हुँदोरहेछ ।’ शिक्षक चौधरीले भन्नुभयो ।
यस्तै ३८ वर्ष सेवारत शिक्षक कलवारले २ वर्ष सोही वडाको रघुनाथपुरमा र बाँकी समय जैतापुर विद्यालयमा अध्यापन गर्नुभएको थियो । जिल्लाको महागढीमाई नगरपालिकाको वडा नम्बर ३ गजंभवानीपुरमा स्थायी घरभई लामो समयदेखि जैतापुरमै बस्दै आउनु भएका कलवारले अवकाशपछिको बाँकी जीवन कृषि पेसासहित घरपरिवारसँगै बिताउने बताउनुभएको छ ।

कलवारले शिक्षण शुरु गर्दा हालको जैतापुर माध्यमिक विद्यालय ३ कक्षासम्मको प्राथमिक विद्यालय थियो । उहाँले अध्यापन गराएका धेरै विद्यार्थी शिक्षण पेसामा उहाँसँगै कार्यरत छन् । कोही जनप्रतिनिधि, कोही प्रतिष्ठित बैंकमा र केही नेपाल सरकारको अधिकृतका स्तरको कर्मचारीको रुपमा कार्यरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय चौधरीले बताउनुभयो ।‘आजको जैतापुर मावि स्थापना गर्न सरले महत्वपूर्ण योगदान गर्नुभएको छ, विविस अध्यक्ष चौधरीले भन्नुभयो, कृष्णचन्द्र सरको बिदाइ गर्नुपर्दा विद्यालयका शिक्षक, विद्यार्थीसहित अविभावकलाई पनि भावुक बनाएको छ ।’

Leave a Reply