नरेश गुप्ता
बरियारपुर,बाराको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । चितवनबाट बारातर्फ आउँदै गरेको मोटरसाइकललाई अमलेखगंजमा ट्रकले ठक्कर दिँदा सोमवार बिहान बाराको बारागढी गाउँपालिकाका एक दम्पतीको मृत्यु भएको हो ।
प्रदेश ०३–००४ प १५१७ नम्बरको मोटरसाईकललाई ना ७ ख ३९४८ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतिको मृत्यु भएको थियो । अमलेखगंजको दुई नम्बर पुल नजिक भएको दुर्घटनामा बारागढी गाँउपालिका वडा नम्बर १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी श्रीमती नन्द चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ ।
मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा लडेका चौधरी दम्म्पतिलाई सोही ट्रकले किचेको र घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी जिल्लाको महागढीमाई नगरपालिकाकाको थलही पुलबाट मोटरसाइकल तल खस्दा दुईजनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ स्थित थलही पुलबाट आइतवार राति मोटरसाइकल तल खस्दा मोटरसाइकल चालक बाराको सूवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वा टोल निवासी ३५ वर्षीय बिरू लाल यादव र पछाडि बस्ने भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण वडा नम्बर २ स्थित समरपुर निवासी ३० वर्षीय चन्द्र राय यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार यादवद्वय सवार प्रदेश २–०३–००४ प. ७९३४ नम्बरको मोटरसाइकल हुलाकी राजमार्ग सडक खण्डमा बरियारपुरबाट लङ्गडा चोकतर्फ जाँदै गर्दा आफै अनियन्त्रित भएर थलही पूलबाट तल खसेपछि घाइते भएका उनीहरुलाई उपचारको लागि कलैया अस्पताल ल्याइएको भएपनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले जानकारी दिनुभयो ।



















