निजगढ,नेकपा एमाले स्थायी कमिटी सदस्य एवंम मधेस प्रदेश इन्चार्ज लिला श्रेष्ठले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ५ वर्षसम्म नै प्रधानमन्त्री पदमा टिकिरहने षडयन्त्र गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस पार्टीले सत्ता सहकार्य गरेको बताउनुभएको छ ।

बाराको निजगढमा रिर्टर्नी फेडेरेशन नेपाल मधेस प्रदेश कमिटीले बिहीवार आयोजना गरेको विस्तारित बैठक एवंम प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सो कुरा बताउनुभएको हो । ‘शुरुमा ३ वर्षअघि कांग्रेसलाई धोका दिएर हाम्रो पार्टीसंग मिलेर प्रधानमन्त्री बन्न आउनुभयो, सिरहाबाट प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, फेरि एमालेलाई धोका दिएर कांग्रेससंगै मिलेर अर्को सरकार बनाउनुभयो ।’ उहाँले आम निर्वाचनपछि गठबन्धन दलभित्रको सबैभन्दा ठूलो दललाई धोका दिएर एमालेसंग मिल्न आएको र राष्ट्रपतीको निर्वाचनमा फेरि एमालेलाई पनि धोका दिएर कांग्रेससंग मिल्न गएको उहाँले उल्लेख गर्नुभयो ।

प्रचण्डले पछिल्लो पटक फेरि पनि एमालेलाई धोका दिने र कांग्रेससंग मिलेर अर्को सरकार बनाउने तयारी गरेपछि आफूहरु सशंकित बनेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको हैसियतमा दिल्ली भ्रमणको क्रममा प्रचण्डले भारतीय नेताहरुसंग कुरा गर्दै फेरि पनि नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारीमा रहेको बताएपछि सरकारको स्थायित्व र देश विकासको लागि आफूहरुले पनि सरकारको विकल्प खोजेको उहाँको भनाई थियो ।
‘लोकतन्त्र र गणतन्त्रको सुदृढीकरण लागि कांग्रेस र एमाले जस्ता ठूला दललाई खेलाएर ५ वर्षसम्म प्रधानमन्त्री बन्ने प्रचण्डको षडयन्त्र विफल पार्न जरुरी थियो,’ उहाँले भन्नुभयो, यो सहयात्रा आगामी आम निर्वाचनसम्म नै कायम हुने छ ।
आगामी निर्वाचनमा पनि एमालले एक्लै प्रतिस्पर्धामा उत्रिने बताउदै नेता श्रेष्ठले ०८४ सालको निर्वाचनमा बहुमतको सरकार बनाउने दावी पनि गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवंम रिटर्नी फेडेरेशनका इन्चार्ज कृष्ण केसी, केन्द्रीय कमिटी सदस्य वलवीर चौधरी, मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, सचिव मनोज पौडेल, फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीलगायतले बोल्नुभएको थियो ।फेडेरेशनका प्रदेश अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा फेडेरेशनका केन्द्रीय उपाध्यक्ष एवंम मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विभिन्न पालिकामा निर्वाचित रिटर्नी फेडेरेशनका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply