निजगढ,इन्टरनेटको पैसा रिचार्ज गर्ने विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने बाराको निजगढ नगरपालिका ९ बिमलकुमार बस्नेतमाथि अनुसन्धान गर्न जिल्ला अदालत बाराले ईलाका प्रहरी कार्यालय निजगढलाई पहिलो पटक ७ दिनको म्याद दिएको छ ।
४० वर्षिय श्रीमती लक्ष्मी राईको हत्यापछि पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न निजगढ प्रहरीले बुधवार जिल्ला अदालत बारामा उपस्थित गराएको थियो । बस्नेतमाथि अनुसन्धान प्रहरी ८ दिनको म्याद मागेकोमा अदालतले ७ दिनको म्याद दिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
सप्तरीको राजविराज घर भइ हाल निजगढ ९ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षिय बस्नेतले इन्टरनेटमा पैसा हाल्न दवाव दिएको झोकमा धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेलगत्तै मंगलवार राती नै प्रहरीमा आत्मासमर्पण गरेका बस्नेतमाथि कतव्र्य ज्यान मुद्दामा अनुसन्धान शुरु गरेको छ ।
घटनामा लक्ष्मीकी २ छोरीहरु १८ वर्षिय गंगा र १५ वर्षिय जमुना पनि घाइते भएका छन । आमामाथि आक्रमण गर्न थालेपछि बचाउन गएकी छोरी गंगाको हातको पञ्जा काटिएको र वीगञ्जमा उपचार हुन नसकेपछि थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौं पठाइएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । जमुनाको भने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस्नेत र लक्ष्मी घरजम गरेर ३ वर्षदेखि निजगढस्थित ससुरालीमा बस्दै आएका थिए । ४ वर्षअघि मजदुरी गर्न काठमाण्डौं गएको बेला सम्पर्क भएपछि लक्ष्मीले बस्नेतलाई दोस्रो श्रीमानको रुपमा माईतीमा ल्याएर राखेकी हुन । लक्ष्मीले दोस्रो बिहे गरेपछि पहिलो श्रीमानले भने घर छोडका थिए ।लक्ष्मीको पहिलो श्रीमानबाट २ छोरी र १ छोरा छन ।

















