वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि आफ्नै खाताबाट मासिक रुपमा तलब बुझ्न पाउने भएका छन ।
महानगरपालिकाले बुधवार सूचना निकालेर महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर तत्काल विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमवारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरुले समयमै तलब बुझ्न नपाएको र दैनिकी पनि असहज भएको महसुस भयो,’ उहाँले भन्नुभयो, ‘त्यसैले अबदेखि महानगरले खातामा सोझै तलब भत्ता पठाउने भएको हो ।’
विगतमा विद्यालयको खातामा तलब निकासा हुँदा समयमै तलब लिन शिक्षकहरुलाई झन्झट हुने गरेकोमा अब भने महानगरले शिक्षकहरुको समस्या बुझेर सोझै खातामा तलब जाने व्यवस्था मिलाएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताउनुभयो । ‘संचय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालय मार्फत नै भुक्तानी गर्नुपर्ने भएकाले त्यो बाहेक शिक्षकहरुले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौँ ।’ उहाँले भन्नुभयो । महानगरमा रहेका ९१ वटै सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने पनि उहाँले जनाउनुभयो ।

















