नरेश गुप्ता
बरियारपुर,युवा संघ कलैया उपमहानगरपालिका नगर कमिटीले बिहीबार विपन्न परिवारलाई राहत वितरण गरेको छ । युवा संघ कलैया उपमहानगरपालिका नगर कमिटीको आयोजनामा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोलका ५५ विपन्न घर परिवारलाई राहत स्वरुप चामल वितरण गरिएको युवा संघ बाराका पूर्वअध्यक्ष एंव केन्द्रीय सदस्य ध्रुब यादवले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कोभिडबाट प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरेको बताउनुभयो । युवा संघ बाराले कोरोना र बाढी, पहिलोबाट प्रभावित परिवारको घर दैलोमा पुगेर सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
कलैया उपमहानगरपालिकाको भौराटोल, रामपुर र प्रसौनीका क्यान्सर पीडित बिजय साह लगायतलाई राहत सहयोग गरेको युवा संघ बाराले जनाएको छ । संघको उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा युवा संघ बारा ईन्चार्ज राजेश पटेल, युवा संघ केन्द्रीय सद्स्य गणेश रिजाल, नगर कमिटी उपाध्यक्ष आरके भट्टराई लगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेकपा एमाले खनाल–नेपाल निकट युवासंघ नेपालले बिहिबार बाराको करैयामाई गाउँपालिकामा युवा भेलाको आयोजना गरेको छ । पालिका स्तरीय भेलाले युवा संघ नेपाल करैयामाई गाउँपालिका कमिटी गठन गरेको छ । लालबिहारी प्रसाद गुप्ता अध्यक्ष र रञ्जित चौधरी सचिव रहने गरी ४१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।
युवा सङ्घका नेता मनोजप्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्बर २ का अध्यक्ष विजेन्द्र चौधरी, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य ध्रुवप्रसाद यादव, एमाले करैयामाई गाउँपालिका कमिटी अध्यक्ष धनिराम चौधरी, युवा सङ्घका केन्द्रीय सदस्यहरु अनिल भण्डारी, गणेश रिजाल, चण्डिका उप्रेती सापकोटा, युवा संघ कलैया नगर कमिटीका अध्यक्ष हरीओम साह लगायतको उपस्थिति रहेको थियो ।