वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ । मधेश प्रदेशमै पहिलो पटक वीरगञ्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलवारदेखि शुरु गरिएको हो ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गर्नुभयो । त्यसपछि आयोजित समारोहमा नारायणी अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेले नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर आदान प्रदान गर्नुभएको थियो ।
उक्त सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति लगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरण लगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ।

















