वीरगञ्ज,पर्सा र सर्लाही जिल्लामा नदी र नहरको पानीमा डुबेर आइतवार ३ जना बालकको मृत्यु भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ५ मसिहानीस्थित गाङगोल नदीमा ऋषि पञ्चमीको अवसरमा स्नान गर्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।स्थानीय स्रोतका अनुसारआइतवार साँझको ३ः४५ बजे ऋषि पञ्चमीको व्रतमा महिलाहरू नदीमा स्नान गर्न गएका बेला, दुई बालक पनि उनीहरूसँगै स्नान गर्न गएका थिए। स्नानको क्रममा नदीमा रहेको खाल्सोको बारेमा बालकहरूलाई जानकारी नहुँदा उनीहरू नदीमा डुबेका थिए।

मृत्यु हुने बालकहरूमा भारतको बिहारका अनरन्जित पटेलका ७ वर्षीय पुत्र अभिषेक पटेल र भारतको बिहार सिकटाका बृजेस ठाकुरका ९ वर्षीय पुत्र गुलसन ठाकुर रहेका छन्। घटनाबारे स्थानीय प्रहरीले सूचित गरेपछि प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गर्दै पोस्टमार्टमको लागि वीरगञ्ज पठाएको छ।इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले यसबारे जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान चलिरहेको छ।त्यसैगरी सर्लाहीको हरिवन नगरपालिका– ५ किरिङ टोलमा आइतवार अपराह्न नहरमा डुबेर एक जना बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी भएपछि साथीसँगै घर नजिकै बागमती सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका स्थानीय जनिफ मन्सुरका छोरा १५ वर्षीय सहमद मन्सुरको डुबेर मृत्यु भएको हो ।बालक नहरमा पौडी खेल्नेक्रममा नहरभित्र रहेको ह्युम पाइपमा अड्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।
बालकलाई ह्युम पाइपबाट मृत अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर बाहिर निकालेका छन् । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।बालकलाई गोठालो गएका स्थानीय मानिसहरूले नहरमा डुब्नासाथ देखेपनि ह्युम पाइपमा अड्किएकाले तत्काल बाहिर निकाल्न नसक्दा बालकको मृत्यु भएको हो । बालकसँगै नुहाउन गएका अन्य बालक भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।

















