निजगढ,जिल्ला सुरक्षा समिति बाराको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणधिन दुधौरा पुलको सोमवार स्थलगत निरीक्षण गरेको छ ।प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले सोमवार निर्माणाधिन पुल र उक्त क्षेत्रको अवस्थाबारमा स्थलगत निरीक्षण गरेको हो । निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ, श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोककुमार क्षेत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहभागी हुनुभएको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा खोलाको निर्माणाधिन पुलको डाइभर्सनको लागि राखिएको बेलिब्रिज र पुल निर्माण कार्यको अवस्था बारेमा पनि स्थलगत निरीक्षण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।करिव ७ वर्षअघि निर्माण शुरु भएको सो पुल निर्माण कम्पनीको लापरवाहीका कारण सम्पन्न नहुँदा राजमार्ग भएर गुड्ने सवारी साधन जोखिममा पर्दैआएका छन ।यसक्रममा नदीको वहाव बढेर उत्पन्न हुनसक्ने विपद्जन्य परिस्थितिलाई व्यवस्थापन गर्न टोलीले मातहतका सुरक्षा निकाय र निर्माण व्यवसायीका प्रतिनिधिसंग पनि छलफल गरेको छ ।पुलको दुवै छेउमा सुरक्षाकर्मी राख्ने, एक पटकमा एउटामात्र गाडी बेलीब्रिजबाट चलाउने, एउटा स्काभेटर स्टाण्डवाई राख्ने विषयमा सम्बन्धितलाई सो टोलीले निर्देशन दिएको छ ।



















