वीरगञ्ज,भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख र कर्मचारीहरुमाथि भएको हातपात र दुव्र्यवहारको घटनालाई लिएर पर्सा जिल्लाका पाँचवटा कर्मचारी संगठनहरुले दोषिमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।
कर्मचारी संघठनहरुले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाएका यस्तो चेतावनी दिएका हुन । घटनामा संलग्नहरुमाथि कानुनअनुसार कारबाही हुनुपर्ने अन्यथा, सम्पूर्ण ट्रेड युनियनकर्मीहरु सशक्त आन्दोलनमा जानसक्ने भनेर ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।

भदौ १८ गते मालपोत कार्यालय, वीरगञ्ज पर्सामा भएको घटनाको भ्रत्सना गर्दै नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति पर्सा, एकिकृत सरकारी कर्मचारी संगठन मधेस प्रदेश, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्सा, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति पर्सा, नेपाल मधेसी निजामती कर्मचारीले संयुक्त ज्ञापनपत्र बुझाएका हुन । ज्ञापन पत्रमा घटनाको भ्रत्र्सना गर्नुका साथै घटनाको जाँचबुझ गरी दोषीलाई नियमानुसारको कारबाही माग गरेका छन् ।
गत भदौ १८ गते भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख डमरु निरौलालाई कार्यालयको मूलगेटमै हातपात गरी अभद्र व्यवहार र अपमानजनक शब्दहरु प्रयोग गरेर गालीगलौज गरेको घटना बारे सामाजिक संजालमा देखिएको भिडियो क्लीप तथा सो कार्यालयका कर्मचारीहरुले भदौ २० गते जाहेर गरेका प्रेस विज्ञप्तीप्रति सम्पूर्ण ट्रेड युनियनकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

उनीहरुले कानुनी राज्यमा कानुन तथा न्यायको लागि सम्बन्धित निकायमा नपुगी राज्यको चौथो अङ्ग मानिने प्रेस जगतका कुनै पत्रकारले कुनै पनि कुराको सत्यतथ्य व्यवहोरा समाजमा उजार गर्नुको साटो कसैको करकाप, दबाव, निजी स्वार्थ वा पूर्वाग्राही तरिकाले कुनै पनि कार्यालयको प्रमुख तथा कर्मचारीलाई लक्षित गरि निराधार एवं अप्रमाणित, तथ्यहीन कुराको आधारमा अपशब्द प्रयोग गरी अभद्र व्यवहार गर्नु आफैमा लजास्पद विषय भएको भन्दै यस्तो गतिविधिले राष्ट्र सेवक कर्मचारीहरुको आफ्नो काम प्रतिको मनोबल घटनुको साथै प्रेस जगतमाथि समेत प्रश्न चिन्ह खडा हुने र परिणाम स्वरुप सार्वजनिक सेवा प्रवाहमा अवरोध हुनगई सर्वसाधारण जनता समेत ठूलो मर्कामा पर्न जाने स्थिति सृजना हुनसक्ने स्मरण गराएका छन ।
कर्मचारी संघठनहरुले घटनाको यथाशीघ्र सत्यतथ्य व्यवहोरा जाँचबुझ गरि दोषीमाथि नियमानुसार कानुनी कारवाहीको पनि माग गरेको छन । उनीहरुले बिचौलियामार्फत् नभई सेवाग्राही र कर्मचारीबीच प्रत्यक्ष सम्पर्क हुने गरि निःस्वार्थ रुपले जनताको पीर मर्का बुझेर सुरक्षाको प्रत्याभूति हुने गरि भय रहित वातावरणमा कर्मचारीहरुले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध पनि गरेका छन् ।ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष विजयकुमार गुप्ता, एकिकृत सरकारी कर्मचारी संगठनका मधेस प्रदेश सदस्य मनोज साह, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्साका उपाध्यक्ष सुशिल यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति, पर्साका अध्यक्ष सुनिलकुमार कुर्मी र नेपाल मधेसी निजामती कर्मचारीका केन्द्रिय उपाध्यक्ष रामाधार यादवले हस्ताक्षर गरेका छन् ।

Leave a Reply