कलैया,घरेलु तथा साना उद्योग कार्यालय बारामा ०८०÷८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन् । यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ ।
दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको तीन अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।बाराका घरेलु तथा साना उद्योग कार्यालयले ती उद्योगबाट जम्मा रु ९६ लाख ४५ हजार दुई सय ५० राजस्व सङ्कलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिनुभयो । कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन ।
पर्सामा ३२ घरेलु उद्योग खारेज
वीरगञ्ज,गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् ।आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भन्नुभयो, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१÷८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन”, उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्र्ने उद्यमीलाई सहज रुपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताउनुभयो । “अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन”, उहाँले भन्नुभयो, “राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।”