कलैया,तीज पर्वमा तडकभडक र फजुल खर्च गर्नेमाथि जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गर्ने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तीज पर्वका अवसरमा भड्किलो तथा खर्चिलो कार्यक्रम नगर्न र नगराउन आग्रह गर्दै त्यस्ता गतिविधिहरूमा संलग्न भएको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले हस्ताक्षर गरेर जारी गरेको सूचनामासामाजिक व्यवहार सुधार ऐन, २०३३ र सामाजिक व्यवहार सुधार नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरूलाई व्यवस्थित र नियमन गर्ने प्रावधान रहेको र तीज पर्वका नाममा कानुन विपरितकार्यक्रमहरू गरिएको पाइए कारबाही गर्ने जनाइएको छ ।
सूचनामा तीज पर्वको मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्वको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको भन्दै पर्वलाई सादगीपूर्ण तरिकाले मनाउन सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घसंस्था, समाजसुधारकर्मी, महिला सञ्जाल र जिल्लावासीहरूलाई आग्रह पनि गरिएको छ । ‘सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूबिच विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।’सूचनामा उल्लेख छ ।
हरितालिका तीज नेपाली महिलाहरूले एक महत्वपूर्ण सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन्। यस पर्वमा भगवान् शिव–पार्वतीको पूजा गर्दै महिलाहरूले आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य, र दीर्घायुका लागि उपवास बस्ने परम्परा रहेको छ ।



















