निजगढ,बीमाको माग गर्दैआएका निजगढका किसानको केराको बीमा हुने भएको छ ।बारा केरा तथा फलफुल उत्पादक संघ, बीमा कम्पनी हिमालयन एभरेष्ट र बीमा प्राधिकरणका कर्मचारीहरुबीच शनिवार निजगढ नगरपालिकामा भएको छलफलमा किसानको मागअनुसार केराबालीको बीमा गर्ने सहमति भएको हो ।सहमतिसंगै निजगढ नगरपालिका कृषि शाखाले आइतवारबाट बीमा कार्य सुरु गरेको छ ।बीमाको माग गर्दै निजगढका किसानले चरणवद्ध आन्दोलनको घोषणा गरेपछि किसानहरुसंग छलफल गर्न निजगढ आएका बीमा कम्पनी र प्राधिकरणका कर्मचारीहरुले निजगढ नगरपालिका कार्यालयमा किसानहरुसंग छलफल गरेका थिए ।छलफलमा किसानको माग अनुसार बीमा गर्न कम्पनी तयार भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको केरा तथा फलफुल उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।सहमति अनुसार सम्मको बीमा गर्ने सहमति भएको र सो अनुसार बीमा कार्य सुरु भएको हिमालयन एभरेष्ट बीमा कम्पनी सिमरा शाखाका प्रवन्धक श्रीराम रेग्मीले जानकारी दिनुभयो ।यसअघि कम्पनीले निजगढका किसानको केराबालीको बीमा गर्न आनाकानी गरेपछि संघको आह्वानमा किसानहरुले बीमा कम्पनीको कार्यालय सिमरामा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।यसअघि संघको टोलीले सडक आन्दोलनको चेतावनीसहित जिल्ला प्रशासन कार्यालय बारासहित कृषि तथा पशुपंक्षी मन्त्रालय, बीमा प्राधिकरण, हिमालयन एभरेष्ट बीमा कम्पनी र मन्त्रालय, बीमा प्राधिकरण र निजगढ नगरपालिकाकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै बीमा गर्न गएका किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि निजगढका किसानहरु आन्दोलित बनेका हुन ।



















