निजगढ,नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा निजगढकी रामकुमारी गोले र मिना लामाको नाम पनि समावेश गरेको छ ।
आइतवार सार्वजनिक भएको मधेस प्रदेश सभा सदस्य समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीमा निजगढकी रामकुमारी गोले र मिना लामाको नाम समावेश भएको हो । गोलेको नाम बन्द सूचीको दोस्रो नम्बरमा छ भने अर्की नेतृ लामाको नाम तेस्रो नम्बरमा राखिएको छ । मधेस प्रदेश सभा सदस्यको बन्द सूचीको पहिलो नम्बरमा सर्लाहीका शेरबहादुर योन्जन पर्नुभएको छ । मिनाको नाम प्रतिनिधि सभा सदस्यको बन्द सूचीमा पनि समावेश छ । कांग्रेसले लामालाई १९ औं नम्बरमा राखेर निर्वाचन आयोगमा सूची पठाएको हो । गोले निजगढ वडा नम्बर १२ र लामा वडा नम्बर ८ निबासी हुन ।
उता, बन्दसूचीलाई लिएर नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टीको संस्थापन पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै उनीहरुले नाम सच्याउन दबाब दिएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, अनि आठौँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समेटिनुभएको छ ।
कांग्रेसभित्र चुनावको टिकट वितरणलाई लिएर बिवाद बढ्दै गएको छ । असन्तुष्ट पक्षको पछिल्लो भेलाले समानुपातिकको बन्दसूची नसच्याए र टिकट वितरणमा एकलौटी गरेमा चुनावमा भाग नलिनेसम्मको चेतावनी दिएको छ । निजगढकी गोले संस्थापन पक्षकी हुन भने लामा संस्थापन इतर पक्षमा सक्रिय हुनुहुन्छ ।
















