आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा वर्तमान अवस्थाको विश्लेषण तथा समय सापेक्ष सुधारका लागि सर्वपक्षीय गोष्ठी सम्पन्न भएको छ ।सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा शनिवार राती अबेर सम्पन्न भएको सो गोष्ठीमा सहभागीहरुले सिम्रौनगढ नगरपालिकामा हालसम्म देखिएका विवाद र समस्यामा सबै पक्ष जिम्मेवार रहेको स्वीकार गर्दै आगामी दिनमा आफ्नो अधिकार र कर्तव्यप्रति सचेत भएर नगरको विकासको लािग आपसमा मिलेर काम गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख किशोरीप्रसाद कलवार, उपमेयर नजुम शेहरका पती शेख मोतिम, प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र साह, वडा नम्बर १ का अध्यक्ष दिनदयाल मुखिया, ३ का अजुलाह अन्सारी, ४ का अवधेश सहनी, ६ का नन्दकिशोर प्रसाद जयसवाल र ९ का रामएकवाल प्रसाद यादव सहभागी थिए ।गोष्ठीमा नागरिक समाजका अरबिन्द कुशवाहा, जनमत पार्टीका गगनदेवप्रसाद कुशवाहा, सन्तोष कुमार, रिन्कु देवी, एकीकृत समाजवादीका बतहु यादव, नेकपा एमालेका महेन्द्रप्रसाद जयसवाल, बामपन्थी नेता नागेन्द्रप्रसाद यादव, लोसपाका रामबाबु प्रसाद यादव, रामबाबु कुशवाहा, शिक्षक हरेन्द्रप्रसाद यादव, सुजित कुशवाहा र नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहतालगायत स्थानीय भद्रभलादमीले आफ्नो जिज्ञासा तथा सुझाव दिएका थिए ।
नागरिक समाज सिम्रौनगढ र उद्योग वाणिज्य संघ सिम्रौनगढको आयोजनामा भएको सो गोष्ठीमा नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए ।सहभागीहरूले नगरपालिकामा विकासको काम र सेवाहरु किन अवरुद्ध भएको भन्दै जानकारी माग गरेका थिए । यस सम्बन्धमा मेयर र वडा अध्यक्षहरुले जवाफ दिएका थिए ।कार्यक्रमका उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा स्वागत सुजित कुशवाहा र सहजीकरण संचारकर्मी रामेश्वर मेहता र नागरिक समाजका वीरबहादुर कुशवाहाले गर्नुभएको थियो ।

















