निजगढ,डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले आफ्नो कार्यकालमा उदाहरणीय कार्य गरेकोभन्दै सरोकारवालाहरुले प्रशंसा गरेका छन ।डिभिजन वन कार्यालय सिमरामा आइतवार भएको सिंहको बिदाई कार्यक्रममा बोल्दै जिल्लास्थित सामुदायिक वन उपभोक्ता समूह र साझेदारी वन समितिका प्रतिनिधिहरुले डिएफओ सिंहले बारा जिल्लाको वन र वातावरण संरक्षणमा महत्वपूर्ण कार्य गरेकोभन्दै प्रशंसा गरेका हुन ।

सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले डिएफओ सिंहले एउटा कुशल राष्ट्रसेवक कर्मचारीको रुपमा बाराको वन तथा वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।जिल्लाको विभिन्न क्षेत्रमा सुकुम्बासीको नाममा अतिक्रमणमा परेको र भूमाफियाहरुले किर्ते कागजपत्र बनाएर निजी बनाएको वन क्षेत्र फिर्ता ल्याउने कार्यमा डिएफओ सिंहले गरेको कामको अध्यक्ष बजगाईले प्रशंसा गर्नुभएको हो ।

‘वन संरक्षणमा जहिले पनि समुदायको सहभागितालाई प्राथमिकतामा राखेर काम गर्नुहुन्थ्यो, अध्यक्ष बजगाईले भन्नुभयो, समुदायको आवश्यकता र चाहना बुझेर काम गर्ने धोरै कर्मचारीमध्ये सिंह पनि एक हुनुहुन्छ ।’२ वर्षअघिबाट डिभिजन वन कार्यालय बाराको जिम्मेवारी सम्हाल्नु भएका डिएफओ सिंहको कार्यकालमा भएका कार्यहरु मध्ये निजगढ नगरपालिकाको सिंगौलको अतिक्रमण हटाउने र कोल्हबी नगरपािलकाको बसनचौरीमा केही व्यक्तिहरुले किर्ते काजगपत्र तयार पारेर निजी बनाएको वन क्षेत्र फिर्ता ल्याउने कार्य सबैभन्दा प्रशंसनीय रहेको सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर समितिका अध्यक्ष कुसबहादुर थापाको भनाई छ ।सिंहको नेतृत्वमा बाराको कोल्हवी नगरपालिका– २ बसनचौरीस्थित राष्ट्रिय वनको १११ बिघा १२ कट्ठा १६ धुर जग्गा केही व्यक्तिहरुले किर्ते कागजपत्र तयार पारी निजी बनाउन गरेको प्रयास विफल तुल्याइएको थियो भने निजगढ २ सिंगौलमा माओवादी सशस्त्र व्दन्दको बेला सुकुम्बासीको नाममा फडानी गरेको र हाल स्थानीय संस्थानीय केही संघसंस्थाको नाममा भोगचल हुदैआएको ३० बिघा वन क्षेत्रको अतिक्रमण फिर्ता ल्याएर ४ दर्जनभन्दा बढीमाथि कानुनी कारबाहीमा पारिएको थियो । ‘बसनचौरी र सिंगौलको वन क्षेत्र अतिक्रमणको प्रयास विफल तुल्याउने कार्य राम्रो हो निजगढ महासंघका अध्यक्ष थापाले भन्नुभयो, तर सिंगौलका केही निर्दोषहरुमाथि पनि मुद्दा लगाइनु जायज थिएन ।’

०६० सालमा सुकुम्बासीको नाममा बाहिरबाट आएका केही मानिसहरुले गाउँ नजिकको जंगल फडानी गरी बसोबास गर्ने प्रयास गरेपछि स्थानीय अगुवाहरुले उनीहरुलाई धपाएपछि फडानीमा परेको सो जमिन आवादी गर्न दिएर सोबाट प्राप्त रकम स्थानीय विद्यालय, मठ, मन्दिर र गुम्बाको आम्दानीमा राखेका थिए । गत वर्ष वन कार्यालयले सो जमिन ठेक्कामा लिएर खेती गर्ने स्थानीय किसान, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी लगायत दर्जनौंमाथि मुद्दा लगाएको थियो । ‘सिंगौलमा केहीमाथि अन्याय भएको छ, अध्यक्ष थापाले भन्नुभयो, तर सिंहको कार्यकालमा वन समूहसंग मिलेर वन संरक्षणको क्षेत्रमा जिल्लामा धेरै राम्रा काम भएका छन ।’
त्यसैगरी राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउने कार्यमा सफलताका साथ काम गरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पनि डिएफओ सिंह र कार्यालयका कर्मचारीहरुको सराहना गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले कोल्हबी क्षेत्रको वन निजीकरण गर्न केही व्यक्तिहरुले गर्दै आएको प्रयास वन कार्यालयले विफल पारेको घटनामा डिभिजनल वन अधिकृत सिंह र कर्मचारीहरुको सराहना गर्नुभएको हो । मुख्यमन्त्री सिंह टेलिफोन गरी राष्ट्रिय वन क्षेत्रको जग्गा अवैध तरिकाले भूस्वामित्व प्राप्त गर्न खोज्नेहरूको दुष्प्रयास रोक्न अनुसन्धान कार्यमा संलग्न सबै कर्मचारी धन्यवादका पात्र रहेको भन्दै सराहना गर्नुभएको बताइएको छ ।साविक सपही गाविस वडा नम्बर १ र हाल कोल्हवी नगरपालिका– २ मा पर्ने कित्ता नम्बर १०, १२, १३, १४, १५ र १६ का केही व्यक्तिको लालपुर्जा र नक्साभित्रका जग्गामा नेपाली सेनाले गरेको वृक्षरोपण खाली गराउन लीलादेवी बुढाथोकीले नेपाली सेनाको जङ्गी अड्डा काठमाडौँमा निवेदन पेस गर्नुभएको थियो । त्यसउपर डिभिजन वन कार्यालय बाराले जाँचबुझ गर्दा साबिक सपही गाविस वडा नं. १ (घ) को नाममा जनिएको कित्ता नम्बरं १ देखि १९ को कुल क्षेत्रफल १११ बिघा, १२ कट्ठा १६ धुर अर्थात् ७५.५३ हेक्टर जग्गा हाल कोल्हवी नगरपालिका– २, बारास्थित तामागढी साझेदारी वन उपभोक्ता समूहले संरक्षण तथा व्यवस्थापन गर्दै आएको खुलेको थियो ।
डिभिजन वन कार्यालय बाराले सो जग्गाको स्वामित्व नेपाल सरकारमा रहेको राष्ट्रिय वन क्षेत्र हो भनी ठहर गर्दै सो जग्गाको हक कोही कसैलाई पनि हस्तान्तरण गर्नेतर्फ काम कारबाही नगराउन भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय बारालाई लेखी पठाएको छ ।मधेस प्रदेश वन मन्त्रालयको गत भाद्र ९ गतेको निर्णय अनुसार डिएफओ सिंहको डिभिजन वन कार्यालय धुनषामा सरुवा भएको हो । बाराको डिएफओमा भने राजिव झा आउनुभएको छ ।डिभिजन वन कार्यालयले एक कार्यक्रममा डिएफओ सिंहको बिदाई र झाको स्वागतमा आइतवार कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply