निजगढ, ५ मंसिर– राष्ट्र निर्माण मञ्च नेपालले निजगढ नगरपालिका वडा नम्बर– ३ का स्थानीयलाई शुक्रबार हात धुने र कपडा सफा गर्ने साबुन वितरण गरेको छ ।
नेकपाका नेता तथा युवा तथा खेलकुद पुर्वमन्त्री पुरुषोत्तम पौडलले वडा भित्रका ४ सय ९० घर परिवारलाई ४/४ थान हात र २/२ थान कपडा धुने साबुन वितरण गर्नुभएको थियो ।
मञ्चले निजगढ नगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सरसफाइमार्फत कोरोना भाइरस जोखिम कम गर्न स्थानीयलाई साबुन वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस जोखिमबाट बच्न पर्याप्त सुरक्षा सर्तकता अपनाउन आग्रह गर्नुभयो । नियमित रुपमा व्यक्तिगत सरसफाइ, भौतिक दुरी कायम गर्ने र खाने कुरामा ध्यान दिन सके कोरोनाबाट सजिलै जोगिन सकिने पनि बताउनुभयो ।
कार्यक्रममा राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रतीले कोरोना भाइरस कोभिड– १९ को प्रकोपले समाजमा विभिन्न किसिमका समस्या उत्पन्न गराएको भन्दै आफनो संस्थाले मनोसामाजिक समस्या देखा परेकाहरुको लागि पनि निशुल्क रुपमा परामर्श सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।
कार्यक्रम निजगढ नगरपालिकाकी उप्रमुख लिलादेवी लामिछाने, निजगढ गाविसका पुर्वअध्यक्ष एकबहादुर श्रेष्ठ, नेकपा निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर श्रेष्ठलगायतले सरसफाइको महत्व बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर– २ का अध्यक्ष केशव ढोडारी, कार्यपालिका सदस्य पद्मबहादुर भुजेल, राधिका पुलामी, नेकपा निकट युवा संघका केन्द्रीय सदस्य राजु आचार्य, स्थानीय समाजसेवी गणेश लामालगायतको उपस्थिति रहेको थियो ।
वडा नम्बर ३ का कार्यवहाक अध्यक्ष खडकबहादुर खुलालको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन मानबहादुर लामाले गर्नुभएको थियो ।