सिमरा,नेपाल स्काउट अन्तर्गतको मधेश प्रदेश स्काउटको आयोजनामा दीक्षान्त समारोह सम्पन्न भएको छ । सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरीमा सञ्चालित स्काउट इकाईमा दीक्षा कार्यक्रम सम्पन्न भएको हो ।हरिवन नगरपालिका १० स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयमा सञ्चालित स्काउट इकाईमा रहेका ८० जना सहभागी थिए । विद्यालय तथा समुदायमा सञ्चालनमा गरिने स्काउट इकाईहरुमा सदस्यको रुपमा रहने स्काउट बालबालिकाहरुको एक तहको शिक्षा पूरा गरेपछि वायजको दीक्षा प्रदान गर्ने गरिन्छ ।पहिलो दीक्षा प्राप्त गरेका विद्यार्थीले प्रत्येक ६ महिनामा माथिल्लो तहको वायज दीक्षा प्राप्त गर्नेछन् । जसका लागि विद्यार्थीले नियमितरुपमा स्काउटका गतिविधिमा सहभागी हुनुपर्नेछ ।विद्यालयका प्रधानाध्यापक रामप्रसाद बरालको अध्यक्षतामा र हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेल, नेपाल स्काउट मधेश प्रदेश समितिका सदस्य गंगाप्रसाद मैनाली, दिलीप उपाध्यायलगायको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण स्काउट इकाईका स्काउटर पुस्कर बुढाथोकीले गर्नुभएको थियो ।नेपाल स्काउटको सदस्यता वृद्धि लक्ष्य अनुसार मधेश प्रदेशका विभिन्न जिल्लामा स्काउटको कार्यक्रम संचालन भइरहेका छन् । नेपालमा विक्रम संवत् २००९ सालमा शुरु भएको स्काउट अभियानलाई देशभर पुर्याउने गरी कार्यक्रम संचालन भईरहेका छन् ।अभियान अन्तर्गत नेपाल स्काउटले सबै तहका सरकारहरुसंग सहकार्य गरी स्काउटको लागि बजेट व्यवस्थापन गर्न अनुरोध गर्नुका साथै स्काउट क्रियाकलापहरुलाई प्रोत्साहन गरी स्काउट सदस्यता वृद्धि गर्ने उदेश्य रहेको स्काउटका सहायक निर्देशक रविराज पौडेलले बताउनुभयो । दश वर्षे रणनीति अनुसार स्काउटलाई युवा तथा बालबालिकालाई सहभागी गराई देशभर ७ लाखभन्दा बढी सदस्य बनाउने लक्ष्यसहित अभियान संचालन भईरहेको सहायक निर्देशक पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply