राजन कुमार बानिया

पोखरिया,पर्सामा एक वडा अध्यक्ष र वडा सदस्यसहित ३ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षिय अमेरीका सहनी, सोही वडाका वडा सदस्य ४० वर्षिय बलिष्टर सहनी र वडा अध्यक्ष अमेरीकाको नजिकका मान्छे ५२ वर्षिय रामआदेश सहनी ब्राउन सुगर सहित पक्राउ परेका हुन् । तीनै जनालाई प्रहरीले ७९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष अमेरीका र वडा सदस्य बलिष्टर दुबैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा जनप्रतिनिधिले लागुऔषध ओसारी रहेको सूचना प्रहरीले पाएको थियो । त्यहि सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बर्वास्थित सडकखण्डबाट आइतबार राति तीनै जनालाई पक्राउ गरेको हो । बर्वास्थित तिलावे पुल नजिक सडकमा प्रहरीले वडा अध्यक्ष अमेरीकाले चलाइरहेको गाँउपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सभित्र लुकाएर राखिएको ७९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । सोही मोटरसाइकलमा सवार वडा अध्यक्षका नजिकका मान्छे रामआदेश र वडाध्यक्षकै पछाडि ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार भएर आइरहेका वडा सदस्य बलिस्टर सहनीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा वडा सदस्य बलिष्टरले भने लागुऔषध तस्करीको स्कर्टिङ गरिरहेको खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।

ब्राउन सुगर सहित पक्राउ परेका वडा अध्यक्ष अमेरीका १२÷१३ वर्ष पहिले पनि लागुऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परि कैद सजाय भुक्तान गरि छुटेका थिए ।

Leave a Reply