कलैया, ९ साउन– कोरोना भाइरस संक्रमणबाट बारामा थप एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार साँझ वीरगंजस्थित गण्डक कोभिड अस्पतालमा परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया किशोरीको मृत्यु भएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो ।
मृत्युअघि नै थ्रोट स्वाब संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना भएकी ती युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार वीरगन्जको नारायणी अस्पताल र पछि थप उपचारका लागि वीरगन्ज कै हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो ।
हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ आएपछि स्वाब नारायणी प्रयोगशालामा र बिरामीलाई कोभिड अस्पताल गण्डकमा पठाइएको हेल्थ केयर हस्पिटलका डा. अवुलेश अन्सारीले बताउनुभयो । अस्पतालमा भर्ना गर्दा उनमा डाइरिया, श्वासप्रस्वास र चक्कर लाग्ने समस्या देखिएकोर स्वाब परीक्षणको रिपोर्ट आउनु अगाबै उनको मृत्यु भएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।
कोभिड अस्पताल गण्डकमा शुक्रबार नै वीरगन्ज महानगरपालिका–११ रानीघाटकी ८५ वर्षीया तप्सिया देवीको पनि कोरोनाका कारण मृत्यु भएको थियो । बाराकी किशोरीसहित शुक्रबार साँझसम्म मुलुकभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।